०७ असार २०८३, आइतबार

अधिकृतबाट घरभाडा नलिने घोषणा

बैशाख १०, २०७७
अधिकृतबाट घरभाडा नलिने घोषणा

हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले सदरमुकाम खलङ्गामा रहेको आफ्नो घरको भाडा नलिने घोषणा गरेका छन् ।

चन्दननाथ नगरपालिका – ४ पीपलधारा मालाभिडका टोपबहादुर बुढाले सरकारले चैतको घरभाडा नलिन आह्वान गरेपछि आफूले पनि घरभाडा नलिने बताए । 

गत चैतको मासिक घरभाडा रु २० हजारसहित पानी र बिजुलीको महसुल पनि नलिने निर्णय गरिएको उनकी पत्नी सीताले जानकारी दिइन् ।  यसअघि चन्दननाथ नगरपालिका–९ का वडाध्यक्ष मीनबहादुर डाँगीले दुई घरको मासिक रु ३१ हजार ५०० र प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले रु  २१ हजार घरभाडा नलिने घोषणा गरेका थिए ।

यसैबीच उच्च अदालत सुर्खेत, जुम्ला इजलासले म्याद नाघेको नुन वितरण नगर्न र गर्न नलगाउन आदेश गरेको छ ।  

कोरोना भाइरसका कारण लकडाउन भएपछि हिमा गाउँपालिकाले राहत वितरण गर्दा म्याद नाघेको नुन वितरण गरेको भन्दै सोही गाउँपालिका – १ का प्रतिभा शाही र नेत्रबहादुर शाहीले यही वैशाख ७ गते  रिट निवेदन दायर गरेपछि अदालतले वैशाख ९ गते सो आदेश गरेको हो । 

मुख्य न्यायाधीश रत्नबहादुर बागचन्दका अनुसार म्याद नाघेको नुनका विषयमा गाउँपालिका र गाउँ कार्यपालिकाका नाममा रिट दायर भएको थियो । 
 

कमेन्ट गर्नुहोस्