
प्रदेश २ मा कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्ने उद्देश्यले स्वाब सङ्कलन कार्य तीव्ररुपमा शुरु गरिएको छ। केन्द्रबाट खटिएका ६ वटा र यस प्रदेशका दुई वटा स्वास्थ्यकर्मी टोली गरी आठ टोलीले प्रदेशका आठवटै जिल्लामा स्वाब सङ्कलन कार्यलाई तीव्रता दिएको समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी गराए।
यस प्रदेशमा शुक्रबारसम्ममा ६६६ जनाको स्वाब सङ्कलन गरिएको थियो भने आज ६२४ जनाको समेत गरी अहिलेसम्म एक हजार २९० जनाको स्वाब सङ्कलन गरिएको छ । प्रादेशिक अस्पताल जनकपुरस्थित प्रयोगशालामा स्वाबको परीक्षण कार्य निरन्तररुपमा भइरहेको छ । यस प्रयोगशालाको क्षमता कम भएकाले बढीमात्रामा स्वाब सङ्कलन भएपछि टेकुस्थित प्रयोगशालालगायतका प्रयोगशालामा परीक्षणका लागि पठाउने गरिएको उनले जानकारी गराए।
जनकपुरस्थित प्रादेशिक अस्पताललाई लेभल–२ को कोभिड अस्पताल बनाउने नेपाल सरकारको नीतिअनुरुप यही वैशाख १२ गते साँझसम्ममा आवश्यक सम्पूर्ण पूर्वाधार तयार गरी अब आइसोलेशनमा राखेर कोरोना सङ्क्रमितको उपचारको व्यवस्था मिलाइएको छ भने महोत्तरीको जलेश्वरस्थित अस्पताललाई ५० श्ययाको विशेष आइसोलेशन वार्डका रुपमा परिणत गरिएको उनले बताए।
कोरोना महामारी रोकथाम नियन्त्रण कार्य प्रभावकारी ढङ्गले गर्नका लागि ‘प्रोभिजनल इन्सिडेन्ट कमान्डिङ’ टिम गठन गरिएको छ। सो टोलीमा चिकित्सक, जनस्वास्थ्य विज्ञ र निजामति कर्मचारीको सहभागिता रहनेछ। यस टिमले जनशक्ति व्यवस्थापन, सामग्री व्यवस्थापन, सञ्चार व्यवस्थापनका साथै योजना तथा साधनस्रोत परिचालनलगायतका कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।