
राहत माग्दै सुत्केरी, एकल महिला, अपांग, वृद्धा समेतले पोखरा महानगरपालिका वडा ९ र पोखरा महानगरपालिकाका धर्ना दिएका छन् । पोखरा वडा ९, नयाँबजारस्थित वडा कार्यालयमा करिब ३ सय जनाको संख्यामा नाराबाजी गर्दै सोमबार धर्नामा बसेकाहरुको भीड पछि पोखरा महानगर कार्यालय घेराउ गर्न पुगेको हो ।

वडा ९ कै कृष्णटोलमा बस्ने सुनिता सुनार सुत्केरी हुन् । उनी २४ वर्षकी भइन् । मात्र ४ महिनाको छोरा काखमा लिएर उनले राहत माग्दै धर्ना दिएकी छन् । उनका पति ज्यामि काम गर्दछन् । तर महिना दिनभन्दा बढी लामो समयको लकडाउनले काम पाएका छैनन् । काम नपाउँदा दैनिक ज्यालादारी गर्ने उनीहरुको परिवारका ३ सदस्यलाई हातमुख जोड्न धौ–धौ छ । वडा कार्यालयले अहिलेसम्म आफूलाई राहतको नाममा एक गेडो चामल पनि नदिएको सुनिताको गुनासो छ ।
उनले भनिन्, वडाले पठाएको राहत कृष्णटोल आमा समूहले बाँडेको छ भन्ने थाहा पाएर माग्न गएको खान नपाएकी आएकी होस् भन्दै थर्काएर पठाइदिए । म सुत्केरीले बच्चाको लागि भए पनि पोषिलो खुराक खानुपर्ने बेला एक गास भात खान पनि धौ–धौ भो ।’

सुनिताको जस्तै व्यथा ३७ वर्षीय कमला बिकको पनि उस्तै छ । उनका १३ वर्ष र १६ वर्षका २ जना छोरीहरु छन् । कास्कीको घान्द्रुकी कमला पोखरा ९, कृष्णटोलमै २ छोरीको साथमा डेराकोठामा बस्छिन् । २०५१ सालमा विहे गरेकी उनलाई पतिले २०६३ सालमा अर्की ल्याएपछि छोडेर गए । कुल्ली काम गरेरै अहिलेसम्मको जीवन गुजारा गर्दै आएकी थिइन् । तर लकडाउनका कारण काम गर्न पाएकी छैनन् । सरकारले मजदुरहरुको लागि राहत दिएको भने पनि आफ्नो चुल्होमा राहत नआएको उनको गुनासो छ ।
त्यतिमात्र कहाँ होर, ५२ वर्षका बुद्धिबहादुर बिक बैशाखी सहारामा हिडडुल गर्दछन् । उनी राहत नपाएको भन्दै बैशाखी टेकेरै कृष्णटोलदेखि वडा कार्यालयसम्म आएका छन् । आफूले ज्यामी काम गर्थे । काम गर्नेक्रममा गत पुसमा उनको बायाँ खुट्टा भाँचियो । र, चिकित्सकले प्लाष्टर गरी बैशाखी भिराइदिए । श्रीमती फलफूल बेच्छिन् । परिवारमा २ छोरा र १ छोरा छन् । यसरी ५ जना सदस्यको उनको परिवार राहत नपाउँदा इन्तु न चिन्तु छ । सरकारले घर जान पनि दिँदैन । पर्याप्त राहत त के काम गर्न पनि दिँदैन । बुद्धिबहादुरका अनुसार २ साताअघि मात्र स्थानीय टोल विकास संस्थाले १२ केजी तामल, १ केजी दाल, १ किलो नून दिएको हो । तर त्यत्तिको राहतले के पुग्थ्यो, त्यत्रो ठूलो परिवारलाई । उनी भन्छन्, ‘म काम गर्न नसक्ने भएपछि श्रीमतीले फलफूल बेचेर भएपनि परिवार पालेकी थिई । कि फलफूल बेच्न दिनु पर्यो । कि राहत दिनु पर्यो ।’
धर्ना दिने व्यक्तिहरुको भीडमा थिइन्, प्रभा लामिछाने । ४०वर्षीया लामिछाने किड्नी बिरामी हुन् । केही महिनाअघि मात्र उनको दायाँ मिर्गौला फेरेको रहेछ । बुटवलबाट कामको खोजीमा पोखरा झरेको लामिछाने परिवारमा १२ वर्षका छोरा छन् । उनी काम गर्न सक्दिनन् । श्रीमान ज्यामी काम गर्दछन् । परिवारको लागि एकफेर १२ केजी चामल दिएको लकडाउन बढाएको बढायै गर्दा पनि मजदुरको समस्या नबुझेको भन्दै धर्ना दिन आएको प्रभाले बताइन् ।
वीरबहादुर विश्वकर्माले २ महिनाकी सुत्केरी श्रीमतीका लागि खानेकुरा केही नहुँदा समस्यामा परेको बताए । छरछिमेकीहरुसंग मागेरै छाक टार्दै गरेको उनको गुनासो छ । परिवारमा शिशु ९छोरी० सहित अर्का २ छोरी गरी ५ जनाको परिवार छ । अघिल्लो महिना आमाबाबु समेत गुमाएका विश्वकर्माले राहत माग्न जादा नागरिकता नभएको भन्दै फर्काएपछि समस्यामा परेको बताए । सुत्केरीलाई पौष्टिक तत्व खुवाउनु पर्ने समयमा एकछाक दाल भात खान नपाएको भन्दै उनले गहभरि आँसु पारे ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरा ९ को समस्याबारे महानगरको ध्यानाकर्षण भएको बताए । उनले भने, ‘मजदुरको समस्यामा महानगर गम्भीर छ । छिट्टै हामीहरु राहत वितरण गर्दछौं ।’
पोखरा ९ का वडाध्यक्ष रामराज लामिछानेले कृष्णटोलमा राहत वितरण गरिएको दाबी गर्दै त्यसमा अनियमिता भएको भए खोजीनीति गरिने बताए ।पहिलो चरणमा वडाका ६ सय ८८ घरपरिवारलाई राहत वितरण गरेकोले र छुटेलाई केही संघ संस्थाको समन्वयमा वितरण गरेको उनको भनाइ छ । दोश्रो चरणमा पुनः ९ सय १५ जनाको नाम आएकोले राहत केही दिनमा वितरण गरिने बताउँछन् ।
मजदुरहरुले आइतबार दिउँसो पनि पोखरा ९ को वडा कार्यालयमा धर्ना दिएका थिए ।
पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा हालसम्म साढे ४ करोड रुपैयाँ संकलन भैसकेको जनाइएको छ । महानगरले नगरभित्र ३० हजार बढीलाई राहत वितरण गरेको दाबी गरेको छ ।