
राहत नपाएको गुनासो गर्दै पोखरा महानगरपालिका कार्यालय घेराउ गर्न पुगेका मजदुरलाई महानगरले राहत आश्वासनबिनै घर फर्काएको छ । पोखरा–९, कृष्णटोलका मजदुरको सम्बन्धमा छलफल गर्न कार्यालय प्राङ्गणमा नगरप्रमुख मानबहादुर जिसी लगायत सरोकारको सर्वपक्षीय बैठक बिनानिष्कर्ष टुंगिएको हो ।
बैठकले आफूहरुको राहतको लागि कुनै आश्वासन नदिएको भन्दै न्यूरोडस्थित कार्यालय बाहिर लगातार धर्ना दिइरहेका करिब ३ सय जना मजदुरले आक्रोश पोखे । उनीहरुले वडा कार्यालय र आमा समूहले ‘आफ्नो मान्छे’ खोजी खोजी र रातिराति बोलाएर राहत दिएपनि आफूहरुलाई वञ्चित गरेको आरोप लगाएका छन् ।
बैशाखी सहारामा अडिएका स्थानीय बुद्धिबहादुर बिकले आक्रोशित बने, ‘हामीहरुले यिनीहरुको चालवाजी बुझ्यौं । अब चुनावको बेलामा भोट माग्न आउलान् नि ?’
बैठकमा सहभागी पोखरा वडा ९ का वडाध्यक्ष रामराम लामिछानेले बैठक बिनानिष्कर्ष टुंगिएको र अब भोलि (मंगलबार) पुनः बैठक बसी निर्णय गरिने बताए । बैठकमा महानगर प्रमुख, उपप्रमुख, कर्मचारी, पोखरा ९ सहित छिमेकी वडा वडा ८ का अध्यक्ष रुद्रनाथ बराल, वडा ७ का अध्यक्ष रामचन्द्र बराल, सुरक्षा निकाय, स्थानीय टोल विकास संस्था, आमा समूह लगायतको उपस्थिति थियो ।
लकडाउनको बेलामा पनि सामाजिक दुरी त कहाँ हो कहाँ, हुलका हुल मजदुर देखा परेपछि सम्भावित अप्रिय घटना हुन नदिन व्यापक रुपमा सुरक्षाकर्मी समेत खटाइएको थियो । मजदुरले आइतबार र सोमबार बिहान पनि नयाँबजारस्थित वडा कार्यालयमा समेत धर्ना दिएका थिए ।
अधिकांश सुकुम्बासी तथा ज्याला मजदुरी गरी बस्ने कृष्णटोलमा हाल १ सय ९४ घरधुरी छन् । त्यसमध्ये करिब ३ सय जनाको परिवार छ । टोल विकास संस्थाको समन्वयमा राहतका लागि १ सय ९४ जनाका नाम संकलन गरी वडा कार्यालयमा पठाइएको महानगरहुँदै वडा ९ मार्फत ५१ परिवारलाई मात्र राहत वितरण गरिएको थियो ।
त्यसमध्ये राहतको ३२ फूल (पूरा) प्याकेज र १९ हाफ (आधा) प्याकेज वितरण गरिएको स्थानीय कृष्णटोल आमा समूहका अध्यक्ष रुपा केसीले बताइन् । केहीको आवश्यक कागजात नपुगेको भन्दै राहतबाट वञ्चित गरिएको थियो । दैनिक ज्यालादारी गरी हातमुख जोर्ने परिवारले महिना दिन लामो लकडाउनमा समेत एकपटक पनि राहत नपाएको भन्दै आक्रोशित बनेका हुन् । वडामा महानगरबाहेक लायन्स क्लब, सिद्धि सेतुली, सांसद बिन्दुकुमार थापा, लायन्स क्लब, भृकुटी सहकारी लगायतले पनि राहतको प्याकेज लगेका थिए । तर त्यो पर्याप्त भएन ।
जसका कारण राहत माग्दै सुत्केरी, एकल महिला, अपांग, वृद्धा सम्मिलित मजदुरले धर्ना दिएका हुन् ।
पोखरा ९ का वडाध्यक्ष रामराज लामिछानेले कृष्णटोलमा राहत वितरण गरिएको दाबी गर्दै त्यसमा अनियमिता भएको भए खोजीनीति गरिने बताए । पहिलो चरणमा वडाका ६ सय ८८ घरपरिवारलाई राहत वितरण गरेकोले र छुटेकालाई केही संघसंस्थाको समन्वयमा वितरण गरेको उनको भनाइ छ । दोश्रो चरणमा पुनः ९ सय १५ जनाको नाम संकलन गरिसकिएको छ ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले मजदुरको समस्यामा महानगर गम्भीर रहेको बताए । पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा हालसम्म साढे ४ करोड रुपैयाँ संकलन भैसकेको जनाइएको छ । महानगरले नगरभित्र ३० हजार बढीलाई राहत वितरण गरेको दाबी गरेको छ ।