०१ साउन २०८३, शुक्रबार

‘सरकारको आशा गर्न थाल्यो भने त जीवनभर झुप्रोमा वास हुने भयो’

कात्तिक २०, २०७४
‘सरकारको आशा गर्न थाल्यो भने त जीवनभर झुप्रोमा वास हुने भयो’
सिन्धुपाल्चोक, १२ वैशाख — बन्न नसकेका घरहरू टिनकै टहरोमा सीमित छन् । भूकम्प गएको दुई वर्ष पुगिसक्दा पनि आफूले घरहरू ठड्याउन नसकेकोमा सिन्धुपाल्चोक सिम्पानीका गाउँले दुःखी छन् । तर आशा मारिसकेका भने छैनन् ।
घाम लाग्दा टलक्क टल्किने जस्ताको छानो पानी पर्दा जोडतोडले बज्न थाल्छ । त्यही छानो हुरी चल्दा उचालिएर सख्खै अर्को ठाउँमा पुग्छ कि झैं गरेर हल्लिन्छ । घरभित्र भल पस्ने डर हुन्छ ।

सरकारले दिएको राहत पाएर पनि आफूले घर बनाउन सक्ने स्थिति नभएको गाउँलेले बताउँछन् । ‘बरु सरकारले आफ्नो खुसीले घर बनाउनू भनेको भए घर बनाउन सकिन्थ्यो होला । स्थानीयवासी भन्छन्, ‘सरकारले दिएको पन्ध्र हजार त नक्सा पास गर्दा नै जाँदो रहेछ ।’

भूकम्पले एकपटक तर्साइसकेका गाउँलेलाई फेरि भूकम्पको भय छैन । उनीहरुलाई घर कसरी बनाउने भन्ने भयले बेस्सरी सताएको छ ।

आफ्नो आम्दानीको स्रोत नहुँदा पनि गाउँलेलाई भूकम्प प्रतिरोधात्मक घरको आशा मरेको हो । ‘सरकारले घर बनाइदिने आशा त छैन । बरु उल्टो अलमल पारिदिएको छ’ तीन बिसउमेर कटिसकेकी वेदमाया सुवेदी सुनाउँछिन्, ‘हामीलाई बिगारेको त सरकारले नै हो । आफ्नो सुरमा घर बनाउन पाएको भए हामीले घर बनाइसक्थ्यौं होला । सरकारले फगत आशा मात्र देखायो ।’

त्यसो त कतिपयले पहिलो चरणको १५ हजार पाएपनि दोस्रो चरणको रकम पाएका छैनन् । आफ्नो छोराहरुसँग ०५२ सालमै छुट्टिएर एक्लै बस्दै आएकी हिमादेवी सुवेदीले राहत रकम नै पाएकी छैनन् । ‘झन् मेरो त नाम नै छैन । राहत पनि पाइन । हेर्न आएकाहरुले पनि छोराहरुसँग बस्ने गरेको भने तर म एक्लै बस्न थालेको धेरै भयो ।’ हिमादेवीले गुनासो पोख्छिन्, ‘खै ! हाम्रो नाम पनि लान त लगेका छन्, राहत दिने हुन् कि हैनन् थाहा छैन ।’
उनी लगायत गाउँका प्रायले राहत पाएका छैनन् । त्यसैले ‘गुनासो’ दर्ता गराएका छन् । ती गुनासोले राहत उपलब्ध गराउने आशा पनि गाउँलेमा छ । घर बनाउने आशा पनि अझै मरेको छैन ।

भूकम्पले गाउँका पूरै घर ढलाएपनि कतिपयलाई भने सरकारको सहयोगले केही हुनेवाला छ भन्ने आशा छैन । ‘यो सरकारको आशा गर्न थाल्यो भने हामी सधै यही झुप्रोमा बस्नुपर्ने अवस्था आउँछ’ गाउँका स्थानीय सम्भु सुवेदी आफूले बनाउँदै गरेको एक तले पक्की घर देखाउँदै लोकान्तरसँग भने्, ‘मैले त ऋण खोजेर भएपनि गाउँमा घर बनाउन थालें । मेरो पनि परिश्रम जोड्ने हो भने १५ लाख लागिसक्यो । सरकारले दिने भनेको ३ लाख त चटनीजस्तै हो ।’

ऋण खोजेरै घर ठड्याउन लागिपरेका सम्भु छोराछोरीले कमाएर तिर्लान् नि भन्ने आशा व्यक्त गर्छन् । ‘ऋण त लाग्दै गर्ला । बस्ने ठाउँ त चाहियो नि ।’, उनी थप्छन् ।

सिम्पानीमा घर बनाउन पनि उस्तै गाह्रो छ । मान्छे पाइँदैनन् । ढुवानीले पनि धेरै खर्च खाइदिन्छ । स्थानीय सुनाउँछन्, ‘धन्न मोटरबाटो छ र अलि सजिलो भएको छ । राहत पाए त अर्म पर्म गरेर भए पनि घर बनाउन हुन्थ्यो ।’ श्रीमानको नाममा समेत राहत नआएको बताउँदै स्थानीय मैयाँ सुवेदी भन्छिन्, ‘हामीले त पाउने राहत पनि पाएका छैनौं । सरकारी मान्छे आएर हेरेका त हुन् तर नाम मिलेन भन्दै राहत दिएनन् ।’

राहत नपाए पनि बीस हजार खर्च गरेर आफूले पानी पर्दा भित्र पानी नछिर्ने झुपडी नपुगेको मैयाँ बताउँछिन् ।
गुनासो दर्ता गरिएका भूकम्पपीडितले कहिले राहत पाउँछन् भन्नेमा गाउँले अन्यौल छन् ।

तर, काठका मुढाले च्यापेर बनाएका स–साना घरमा भने पानी पर्दा भल पस्छ । टिन थर्किएर कान थुनेर सुत्नुपर्छ । गाउँले भन्छन्, ‘डर लाग्छ नि । बिहान उठ्दा कोही म¥यो कि भन्ने डर हुन्छ ।’

भूकम्पले भित्र्याएका समस्या जस्ताको तस्तै छन् । नेताले भने ‘खेतमा बाटो पु-याइदिने’ सपना बाँड्न थालेका छन् । गाउँलेले भने कमसेकम आफ्नो घर बनाउन पाए हुन्थ्यो भन्ने सपना बारम्बार देख्ने गर्छन् ।

salt training

कमेन्ट गर्नुहोस्