
जर्मनीले लकडाउन खुकुलो बनाएपछि देशमा कोरोनाभाइरस संक्रमण बढेको आधिकारिक आँकडाले देखाएको छ ।
रोबर्ट कोक इन्स्टिच्युटका अनुसार, जर्मनीको पुनरुत्पादन दर अर्थात् संक्रमण पुष्टि भएका रोगीले संक्रमण सार्ने संख्या १ भन्दा बढी छ ।
यसको अर्थ हो– संक्रमणको संख्या देशमा बढेर गएको छ ।
शनिवार मात्र हजारौं जर्मनहरू भेला भएर लकडाउन पूरै हटाउन माग गरेका थिए । अनि अहिले यस्तो रिपोर्ट आएको छ ।
चान्सलर आंगेला मेर्कलले बुधवार देशका १६ राज्यका नेताहरूसँग वार्ता गरेपछि नियन्त्रणहरू खुकुलो बनाउने घोषणा गरेकी थिइन् ।
सबै पसलहरू फेरि खोल्न अनुमति दिइएको छ र विद्यार्थीहरू क्रमशः विद्यालय जान थालेका छन् ।
तर लकडाउन पूरै हटाउन माग गर्दै शनिवार देशका विभिन्न भागमा विरोध प्रदर्शन गरिएको थियो ।