
कोरोना भाइरस (कोभिड-१९) ले निम्त्याएको स्वास्थ्य संकटको अवस्थामा क्याम्पस र कक्षा कोठाबाट टाढा भएका विद्यार्थीले अब अनलाइन सिकाइको माध्यमबाट फाइदा लिन सक्ने भएका छन्। त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरी एनसेल प्राइभेट लिमिटेडले विद्यार्थीका लागि मोबाइल क्लास डेटा प्याक ल्याएको हो।
लकडाउनले घरमा बसिरहेका तथा अनलाइन शिक्षाका लागि इन्टरनेट सेवा पाउन नसकेकाहरुलाई मध्येनजर गरी १६ जिबी डेटा भोलुम रहेको प्याक बुधबारबाट सञ्चालनमा ल्याइएको एनसेलले जनाएको छ। विद्यार्थीले १ सय ५० (कर सहित १ सय ९१ रुपैयाँ ५४ पैसा) मा उक्त प्याक सुचारु गर्न सकिने एनसेलले विज्ञप्ति मार्फत जनाएको छ। यो प्याक अन्तर्गतको डेटा भोलुमको समयसिमा ७ दिनको रहनेछ।
मोबाइल क्लास प्याक अन्तर्गत विद्यार्थीले ४ जिबी अल टाइम डेटा (थ्रिजी, फोरजी) र २ जिबी भिडियो डेटाको फाइदा लिन सक्नेछन्। विद्यार्थीले यो ४ जिबीको अल टाइम डेटा प्याक कुनै पनि नेटवर्कमा प्रयोग गर्न सक्नेछन् भने २ जिबी भिडियो प्याक अन्तर्गत विद्यार्थीले युट्युब, आइफिल्क्स र अन्य गुगल सर्भिसहरु प्रयोग गर्न सक्नेछन्। माइक्रोसफ्ट टिम्स् प्रयोग गर्न १० जिबी डेटा रहेको छ। विद्यार्थीले माइक्रोसफ्ट टिम्स् मार्फत शिक्षकसँग अनलाइन शिक्षा लिन वा आफ्ना साथीहरुसँग समुहमा बसी अध्ययन गर्न सक्छन्।
विद्यार्थीहरुले एस्ट्रिक्स१७१२३एस्ट्रिक्स२०ह्यास डायल गरी वा अंग्रेजीको सानो अक्षरमा ईडीयू टाइप गरी १७१२३ मा एसएमएस पठाई यो प्याक सुचारु गर्न सक्छन्। साथै एनसेल एपबाट पनि यो प्याक लिन सकिन्छ।