१० असार २०८३, बुधबार

लकडाउनमा कडाइपछि नागढुंगामा देखिएको दृश्य : प्रहरी, पत्रकार र स्वास्थ्यकर्मी समेत फिर्ता !

जेठ २, २०७७
लकडाउनमा कडाइपछि नागढुंगामा देखिएको दृश्य : प्रहरी, पत्रकार र स्वास्थ्यकर्मी समेत फिर्ता !

बिहीवार दिउँसो काठमाडौं उपत्यका छिर्ने मुख्य नाका नागढुंगा लगभग सुनसान जस्तै थियो । फाट्टफुट्ट मालसामानका गाडी र एकाध एम्बुलेन्सभन्दा आवतजावत गर्ने अन्य सवारी साधन देखिएनन् ।

केही मोटरसाइकल उपत्यकाबाहिर जान खोजे तर सवारी पास नभएका कारण उपत्यकाभित्रै फर्काइए ।

नागढुंगामा सवारी साधनको पास चेकजाँच गर्न महानगरीय प्रहरीका प्रहरी नायब निरीक्षक (सई) को नेतृत्वमा एक टोली, महानगरीय ट्राफिक प्रहरी, सशस्त्र प्रहरी बलको पनि प्रहरी नायब निरीक्षक (सई) को नेतृत्वमा टोली र नेपाली सेनाको एक टोली चेकजाँचमा खटिएको थियो ।


उपत्यकाभित्र छिर्नका लागि एम्बुलेन्स, खाद्यन्नका सवारी र सुरक्षा निकायका सवारी साधनबाहेक अन्यलाई लगभग पूर्णबन्देज जस्तै थियो ।

प्रहरी, सेनाका बर्दी लगाएका कर्मचारीलाई विना औचित्य आउनेलाई फर्काएको दृश्य पनि नागढुंगामा देखियो ।

नागढुंगामा प्रहरी नायब निरीक्षक (सई) सुरज सिलवालले विना औचित्य उपत्यकाबाहिर जाने र भित्र छिर्ने सवारी साधनलाई फर्कारहेका थिए ।

दृश्य १ प्रहरीलाई फिर्ता

नागढुंगा नाकामा उपत्यका बाहिरबाटभित्र छिर्ने प्रहरीलाई पनि फिर्ता पठाएका दृश्य देखियो । 

बा ६६ प ९४४१ नम्बरको बाइकमा २ जना प्रहरी जवानहरू आइरहेका थिए । शुरूमा त उनीहरू बाइक नरोकी जान खोजे तर, नागढुंगामा चेकजाँचमा खटिएका प्रहरीले उनीहरूलाई रोके । ‘कहाँबाट आउनुभएको हो ?’ एकजना प्रहरीले उनलाई सोधे, बुटवलबाट, कहाँ जाने ? ‘परिसरमा ड्युटी छ सरुवा भएर आएको ।’ रवाना छ ? छैन । ‘तपाईं जान पाउनुहुन्न विनाकारण उपत्यका छिर्न पाइँदैन ।’

म पनि स्टाफ हो किन नपाउने ? उनी ती प्रहरीसँग झर्किए । त्यसपछि ड्युटीमा कार्यरत सई सुरज सिलवाललाई बोलाए । 

‘उहाँ सरुवा भएर आउनु भएको रे तर रवाना पनि छैन विनाकारण उहाँ छिर्न लाग्नुभएको रहेछ साब !’ उनलाई सई सिलवालले ‘तपाईंहरू विनाकारण आउनुभएको रहेछ, फर्किनुस् । अन्य कुनै बहानामा हामी सुन्दैनौं, होइन भने तपाईंको कार्यालयबाट पत्र मगाउनुस् ।’ 

सई सिलवालले त्यति भने ती दुवैजना बाइक फर्काएर नागढुंगाबाट फर्किए ।

दृश्य २ पत्रकार फिर्ता

दोस्रो दृश्य थियो पत्रकारको । रातो रंगको होन्डा स्कुटरमा हरपल खबर डटकमका प्रविण रिजालको नाममा जारी गरिएको सूचना विभागबाट जारी २७२७२ नम्बरको कार्ड बोकेर एकजना आएका थिए । 

प्रहरीले उनलाई रोक्यो । तपाईं कहाँबाट आउनुभएको ? ‘धादिङबाट ।’ कहाँ जाने ? ‘काठमाडौं ।’ प्रहरीले सोध्यो किन ? त्यहाँसम्म पुग्ने काम छ ।

‘तपाईंसँग कारण रहेनछ, यस्तो बेलामा तपाईंहरू पत्रकारले पनि बुझ्नुपर्ने हो दुःख नमानी फर्किनुस्,’ प्रहरीले उनलाई फिर्ता जान आग्रह गर्‍यो, तर उनले सूचना विभागको पास छ त मसँग । ‘तपाईं उपत्यकामा रिपोर्टिङ गर्ने हो ?’ प्रहरीले प्रश्न गर्‍यो । ‘होइन ।’ उनलाई प्रहरीले त्यहाँबाट फर्काइदियो । 

दृश्य ३ स्वास्थ्यकर्मी फिर्ता

तेस्रो दृश्य थियो स्वास्थ्यकर्मीलाई फिर्ता गरिदिएको । प्रदेश नम्बर ३ – ०२०१० प ७४६३ नम्बरको २२० सीसीको मोटरसाइकलमा उपत्यका छिर्न लागेका १ जना महिला स्वास्थ्यकर्मी र अर्का मोटरसाइकल चालक थिए । 

मनमोहन अस्पतालमा कार्यरत एकजना स्टाफ नर्स पछाडि थिइन्, तर मोटरसाइकल चालकको सवारी पास भने थिएन ।

प्रहरीले स्वास्थ्यकर्मी भएकाले ती महिलालाई जान दिने बतायो, तर मोटरसाइकल चालकलाई फिर्ता जान आग्रह गर्‍यो । उनले आफू पनि स्वास्थ्यकर्मी भएको तर परिचय पत्र बोक्न झुलेको भन्दै जान दिन आग्रह गरे तर प्रहरीले उनीहरूलाई फर्काइदियो । तर ती महिलालाई भने जान दिने भन्यो तर दुवै जना फर्किए । 

‘विनाकाम छिर्न थाल्नुभएको रहेछ, हामीले स्वास्थ्यकर्मीलाई त जानुस् भनेका छौं । अर्को पास नभएकालाई त हामी जान दिने गरेका छौनौं,’ ड्यूटीमा कार्यरत एक प्रहरी हवल्दारले भने, ‘यदि तपाईं पनि स्टाफ हो भने अस्पतालबाट पत्र पठाउन भन्नुस्, होइन भने विना कारण उपत्यका छिर्न रोक लागाइएको छ ।’

काठमाडौं उपत्यकामा मंगलवारदेखि कोरोनाको संक्रमण फैलिएपछि उपत्यका आवतजावतमा पूर्णरूपमा बन्देज लगाइएको छ । नागढुंगाबाट भित्रिने नेपाली सेनाका कर्मचारीलाई पनि पूर्णरूपमा सोधपुध गरेर मात्र छिर्न दिएको दृश्य नागढुंगामा देखियो । प्रहरीले सशस्त्र प्रहरी र निजामती कर्मचारीलाई पनि उपत्यका आउनजानमा कडाइ गरेको देखियो । चालक र सहचालकबाहेक मानिस ल्याउने खाद्यन्नका गाडी पनि फिर्ता गरिएको छ ।

महानगरीय प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी)ले उपत्यकामा छिर्ने र जाने मानिसहरूलाई अहिले पूर्णरूपमा रोक लगाइएको बताए ।

‘उपत्यकामा अहिले आउने जाने मानिसहरूलाई पूर्णरूपमा रोक लगाएका छौं,’ प्रमुख पोखरेलले भने, ‘सबै पास रद्द भएको अवस्थामा उपत्यकामा आउनजान अत्यावश्यक सवारी साधनहरूलाई मात्र अनुमति दिइएको छ ।’

उपत्यकामा कोरोनाको संक्रमण फैलिएपछि सरकारले यसभन्दा अगाडि जारी गरिएका सबै पासहरू रद्द गरेको छ । 

आरडिटी प्रविधिबाट कोरोना जाँच गरेर मात्रै उपत्यका छिर्न दिने निर्णय भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्