
उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकमा जारी लक-डाउन अझै थप्ने विषयमा छलफल भएको छ ।
शुक्रवार अपराह्न बसेको बैठकमा उपस्थित स्वास्थ्य विज्ञहरूले जारी लक-डाउन अझै थप्न सुझाव दिएको बैठकमा उपस्थित एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए ।
समितिका तर्फबाट लक-डाउन थप्ने सिफारिस प्रधानमन्त्रीलाई गरिने र आइतवार बस्ने मन्त्रिपरिषद बैठकले त्यसलाई पारित गर्ने ती मन्त्रीको भनाइ छ ।
'लक-डाउन थप्ने विषयमा त दुईमत रहेन,' उनले भने, 'तर यसको मोडालिटी भने फरक हुन सक्छ । उच्च संक्रमण देखिएका क्षेत्रहरूमा कडाईका साथ लागू हुने र न्यून संक्रमण देखिएको ठाउँमा अलि खुकुलो गर्ने विषयमा कुराकानी हुँदैछ । हामी पुनः भोलि बस्छौं र मोडालिटी तय गर्छौं ।'
जारी लक-डाउन जेठ ५ गतेसम्मका लागि घोषणा भएको थियो । पछिल्लो समयमा कोरोना संक्रमितको संख्या व्हात्तै बढेकाले जारी लक-डाउन खुकुलो गर्ने या खोल्ने कार्यले संक्रमण झन् भयावह हुने निष्कर्ष समितिको छ ।