
दैलेखको पश्चिम क्षेत्रमा पर्ने आठबीस नगरपालिका एक सात्तालाका ३५ वर्षीय कोरोना संक्रमित युवालाई कोरोना पोजेटिभ देखिएको ३८ घण्टापछि मात्रै आइसोलेसनमा राख्नका लागि दैलेख जिल्ला अस्पतालतर्फ लगिएको छ।
सोमबार विहान तीन बजे ती युवामा कोरोना संक्रमण भएको प्रदेश अस्पताल कालागाउँमा पीसिआर जाँच मार्फत पत्ता लागेको थियो। कोरोना पोजेटिभ देखिएसँगै प्रदेश अस्पताल सुर्खेतले नेपालगञ्जमा रहेको भेरी अञ्चल अस्पतालको ल्यावमा पुनः परिक्षणकालागि उनको नोजनल स्वाव पठाएको थियो । सोमबार राती स्वास्थ्य तथा जनसंख्या मनत्रालयले सवा दश बजे कोरोना पोजेटिभ भएको पुष्टि गरेको थियो।
वडाअध्यक्ष पर्वसिंह विकका अनुसार वितेका ३८ घण्टामा संक्रमित व्यक्ति को हुन भन्ने बारेमा कसैलाई पनि जानकारी दिइएको थिएन। ‘अहिले साढे पाँच बजे मात्रै उनलाई आइसोलेसन वार्डमा राख्ने भन्दै जिल्लाबाट आएको टोलीले दैलेख सदरमुकामतर्फ लगेको छ,’ उनले भने, ‘वितेको ३८ घण्टासम्म क्वारेन्टाईनमा बसेका ३९ जना नै साथमा रहेका थिए।’
कर्णालीमा पहिलो पटक कोरोना संक्रमित देखिएपनि उद्धारमा सरकारले तदारुकता नदेखाएको स्थानीय प्रेम थापाले लोकान्तरलाई बताए। ‘अन्य जिल्लामा भएको भए सायद हेलिकप्टरबाट भएपनि उनको उद्धार भइसकेको हुनेथियो ।’ उनले भने, ‘दैलेख भएकाले ढिलाई भएको होला । उनीलाई अहिले कोरोना पत्ता लागेपनि उनीसँगै बसेका अन्य व्यक्तिलाई पनि कोरोना संक्रमण भएको हुनसक्छ, कोरोनाले गाउँमा नै त्रासमय बनेको छ।’