२३ जेठ २०८३, शनिबार

भारतबाट फर्केका नेपाली गौरीफन्टा नाकामा, कोरोना परीक्षणविनै भित्र्याइदै

जेठ ७, २०७७
भारतबाट फर्केका नेपाली गौरीफन्टा नाकामा, कोरोना परीक्षणविनै भित्र्याइदै

काेराेना भाइरस र त्यसबाट सिर्जित समस्याका कारण भारतमा राेजगारी गुमाएका नेपालीहरु लकडाउनकैबीच धमाधम स्वदेश फर्कन थालेका छन्। भारतका विभिन्न सहरमा रहेका सुदूरपश्चिमका बासिन्दा कैलालीको गौरीफन्टा सीमा नाका भएर फर्किरहेका हुन्।

भारतका विभिन्न स्थानबाट पलिया हुँदै गौरीफन्टा सीमानाका आइपुगेका १ हजार बढी नेपालीको ओइरो लागेको हो। तर उनीहरुलाई काेराेना भाइरसकाे परीक्षणविनै नेपाल भित्र्याउन  थालिएको छ। स्थानीय तह र प्रदेश सरकारबीच समन्वय तथा पूर्वतयारी नहुँदा हजाराैँ नेपालीलाई कोरोना परीक्षण बिना नै नेपाल प्रवेश गराउन लागिएको हो।

उनीहरूलाई नाकाबाटै सम्बन्धित स्थानीय तहमा पठाइने भनिए पनि त्यसका लागि बसको व्यवस्थापन हुन सकेको छैन। उनीहरू भोकभोकै छन्। उनीहरूले खाना र पानीसमेत नपाएको गुनासो गरेका छन्।

आरडीटी समेत परीक्षण नहुँदा उच्च जोखिम बढेको छ। भारतबाट हजारौँको संख्यामा नेपालीहरू आउने कुराको जानकारी हुँदाहुँदै पनि प्रदेश सरकार र स्थानीय तहले त्यसको व्यवस्थापनका लागि भने कुनै तयारी नगर्दा यस्तो समस्या सिर्जना भएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रवक्ता शिवराज जोशीले बताए।

धनगढी उपमहानगरपालिकाले पनि प्रदेश सरकारले परीक्षण कीटको पहल नगर्दा समस्या आएको आरोप लगाएको छ। धनगढी उपमहानगरपालिकाकी उपमेयर सुशीला मिश्रले परीक्षण गर्न कीटको अभाव भएको र प्रदेश सरकारले पहल नगर्दा समस्या उत्पन्न भएको बताइन्।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले आरडीटी कीटको अभाव भएकाले सीमामा परीक्षण गर्न नसकि एपनि उनीहरुलाई सोझै घर नपठाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा राखिने बताए। क्वारेन्टाइनमा परीक्षणसँगै निश्चित समय बसेपछि मात्रै घर पठाइने उनको भनाइ थियो।

salt training

कमेन्ट गर्नुहोस्