०५ असार २०८३, शुक्रबार

सीमा नाकामा नेपालीलाई स्वागत ! क्वारेन्टाइनसम्म पुर्‍याउन ६ चरणको तयारी

जेठ १२, २०७७
सीमा नाकामा नेपालीलाई स्वागत ! क्वारेन्टाइनसम्म पुर्‍याउन ६ चरणको तयारी
फाइल फोटो

कैलालीको गौरीफन्टा नाकासँगै सोमवार १२ बजेदेखि कञ्चनपुरको गड्डाचौकी नाकाबाट पनि भारतमा रहेका नेपालीलाई प्रवेश गर्न दिइने भएको छ ।

कोरोना भाइरस संक्रमण रोकथामका लागि भन्दै लामो समयसम्म वैधानिक सीमा नाकाबाट प्रवेश निषेध गरेको सरकारले लुकीछिपी प्रवेश गर्नेक्रम बढेपछि स्वागत गर्ने नीति लिएको हो ।

स्वदेश फिर्ता हुने नेपालीलाई व्यवस्थित ढंगले भित्र्याउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले विभिन्न चरणको तयारी गरेको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नूरहरि खतिवडाले विभिन्न चरण र प्रक्रिया पुर्‍याएर मात्रै प्रवेश गराउने जानकारी दिए । उनका अनुसार भारतबाट आएका नेपालीहरूले सबभन्दा पहिले कहाँबाट आएको, के काम गरेको, कहिलेदेखि बसेको लगायत विवरण समेटिएको व्यक्तिगत विवरण सहितको फाराम भर्नुपर्ने छ ।

सरकारी फाराम बोकेर नेपालीहरू लाइनमा बस्नुपर्ने छ । उनीहरूलाई १ बोत्तल पानी, मास्क, १ पुरिया बिस्कुट दिइने छ । त्यसपछि हेल्थ डेस्कमा सामान्य स्वास्थ्य परीक्षण हुनेछ ।

हेल्थ डेस्कमा ज्वरो नाप्ने काम हुने बताउँदै सीडीओ खतिवडाले कसैलाई गम्भीर समस्या देखिएको अवस्थामा मात्रै थप परीक्षणको व्यवस्था गरिने उल्लेख गरे । सामान्य परीक्षणपछि सुदूरपश्चिम प्रदेश र अन्य प्रदेशका गरी २ भागमा विभाजन गरिने छ । त्यसैअनुसार प्रवेश चाहनेहरूको तथ्यांक कम्युटरमा इन्ट्री गरिने प्रशासनले जनाएको छ ।

सोमवारको खानपिनको व्यवस्थापन समेत गरेको बताउँदै प्रजिअ खतिवडाले खानापछि सम्बन्धित ठाउँमा पठाउने जानकारी दिए ।

आइतवार बसेको जिल्ला सुरक्षा समिति कञ्चनपुरको बैठकले जिल्लाका अन्य नाका पूर्णरूपमा बन्द गरी गड्डाचौकीबाट स्वास्थ्य परीक्षण गरेर प्रवेश गर्न दिने निर्णय गरेको थियो । सोही अनुसार उद्धार गरिन लागेको छ ।

सीडीओ खतिवडाले सोमवार १ हजार ५०० जनाको हाराहारीमा नेपालीहरू भित्रिने अनुमान रहेको बताए । बिहानैदेखि सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको चिकित्सक सहितको टोली सीमा नाकामा खटिएको जनाइएको छ ।

यसअघि गड्डाचौकी नाकाबाट चैत ९ गतेसम्म भारतका विभिन्न शहरबाट करीब ७० हजार नागरिक अव्यवस्थित रुपमा भित्रिएका थिए ।

भारतमा यातायात शुरू गरिएसँगै सुदूरपश्चिमका विभिन्न नाकामा नेपाली अलपत्र पर्ने क्रम केही दिनयता बढ्दै गएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि औषधोपचार बाहेकका सबै सेवा बन्द गर्ने निर्णय समेत गरेको छ ।

कैलालीको गौरीफन्टा नाकाबाट ९ दिनको अवधिमा १२ हजार बढी नेपाली स्वदेश फिर्ता भएका छन् । जेठ २ गतेदेखि आइतवारसम्म गौरीफन्टा सीमानाकाबाट १२ हजार २४३ जनाको उद्धार गरिएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले आइतवार मात्र गौरीफन्टा नाकाबाट ३ हजार ९६४ जनाको उद्दार गरिएको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्