०४ असार २०८३, बिहीबार

इदमा पहिलो पटक मस्जिद सुनसान

जेठ १२, २०७७
इदमा पहिलो पटक मस्जिद सुनसान

मुस्लिम धर्मावलम्बीको महान चाड इद उल–फित्रको अवसरमा मस्जिदमा मुस्लिम समुदायको ठूलो भीडभाड हुन्थ्यो ।

इदका दिन मस्जिदमा भेला भई सामूहिक नमाज पढ्ने, शुभकामना आदानप्रदान गर्नेलगायतका कार्य हुन्थे तर यस वर्षको इद उल–फित्रको अवसरमा मुस्लिम धर्मावलम्बी मस्जिदमा भेला हुँदैनन्, उनीहरूले घरघरमै इद उल–फित्र मनाउने तयारी गरेका छन् ।

कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि बन्दाबन्दी लागू गरिएपछि मस्जिद विगत २ महिनादेखि बन्द छ । कोरोनाका त्रासका कारण यस वर्षको इद उल–फित्रको विशेष कार्यक्रम मस्जिदमा स्थगित गरिएको दमौली मुस्लिम अन्जुमन कमिटीका सचिव मन्सुर अहमदले जानकारी दिए ।

‘यस पर्वको अवसरमा आज मस्जिदमा विशेष कार्यक्रम हुन्थ्यो तर यो वर्ष कोरोनाका कारण मस्जिदमा कार्यक्रम हुने छैन,’ अहमदले भने । उनका अनुसार विगत २ महिनादेखि नै मुस्लिम समुदायले घरघरमा नै नमाज पढिरहेका छन् । 

इद उल–फित्रको अन्तिम दिन सामूहिक पाठ, एकापसमा गला मिलेर शुभकामना आदानप्रदान गर्ने परम्परा रहेपनि कोरोनाका कारण अहिले विगतको जस्तो रमझम नभएको मुस्लिम अगुवा एवं सञ्चारकर्मी गोरा मियाँले जानकारी दिए । ‘कोरोनाका कारण अहिले चाडजस्तै लागेको छैन,’ उनले भने, ‘तैपनि घरपरिवारमै रमाइलो गरी पर्व मनाउने तयारी गरेका छौं ।’

विगतका वर्षहरूमा यो पर्वको अवसरमा दमौलीका मस्जिदमा करीब ८०० मुस्लिम समुदाय भेटघाट भएर रमाइलो गर्दथे । ‘मैले मेरो जीवनकालमा पहिलो पटक यस्तो अवस्था भोग्दैछु,’ मियाँले भने । मस्जिदमा दैनिक ५ पटक नमाज पढ्ने गरिन्थ्यो । अन्य दिनमा दैनिक २०–२५ जनाले मात्रै मस्जिदमा गएर नमाज पढ्ने गर्दथे भने हरेक शुक्रवार ७०० भन्दा बढीले मस्जिदमा नमाज पढ्ने गर्दथे । 

salt training

कमेन्ट गर्नुहोस्