
रमेश भट्टराई ‘सहृदयी’
अर्काको जमिनै हडप्न कसरी सक्छौ र आँट्यौ भन
नेपाली इतिहास भुल्न कसरी सक्छौ र ढाँटीकन
गोर्खाली जसले लखेट्न बलले अङ्ग्रेजलाई अनि
नाता त्यो बलियो छिमेक हुनुको बिस्र्यौ कि मूल्यै पनि ।
रातारात सरेर जान्छ जमिनै विस्तारवादी तिमी
मिच्दै पिल्लर सार्दछौ अलिकता होवैन लाजै पनि
त्यत्रो देश भएर लोभ कति हो सानो छ टुक्रो तर
गिद्धे त्यो नजरै बदल्न नसके के मित्र, के भो भर ?
तर्कैले बलले जितेर कसरी मेरो भनी भन्दछौ
साराले जगमा प्रमाणसँगमा बोल्दै छ के गम्दछौ
हो हाम्रै लिपुलेक ती अझ अरू हेरेर लौ सन्धिमा
बोल्छन् ती बलिया प्रमाण जसमा नक्सा नयाँ भो यहाँ
सानो देश भएर प्रेम उसको सानो नसोच्नू तर
आपूm इज्जत माग्दछौ पनि भने सम्मान गर्ने गर
हामी छौँ बिचमा दुई मुलुकका नाता छ उस्तै तर
सीमाना छ खुला अभैm छ बलियो संस्कार सोच्ने गर
आगामी दिनमा नहोस् पिर भनी स्थायी समाधानमा
वार्ता देश दुई मिलेर गरियोस् बोकी प्रमाणै जहाँ
सीमाका अतिचार रोक्न अब लौ पर्खाल लाऊँ भनी
खोलौँ कोष जुटौँ उठौँ घरघरै स्वाधीन हामी पनि ।
छन्द : शार्दूलविक्रीडित