
काठमाडौं, १४ वैशाख — फिल्म टिकट बूक गराइदिने वेबसाइट बूकमाईशोले टिकट बूकिङ खुलेको २४ घन्टाभित्र बाहुबली २ को दश लाखभन्दा बढी टिकट बिक्री भइसकेको जनाएको छ ।

अझ, दक्षिण भारतमा त बल्ल आज बूकिङ खुल्दैछ । त्यहाँ फिल्मले एकदमै धेरै कमाउने अनुमान गरिएको छ ।
एडभान्स बूकिङमा कीर्तिमान भंग भएको बूकमाईशोको दाबी छ । यसअघि दंगलको बूकिङ बबाल थियो ।
बूकमाईशोका आशिष सक्सेना भन्छन्, ‘हाम्रो वेबसाइटले बाहुबली २ का लागि अभूतपूर्व एड्भान्स बूकिङ पाएको छ । सबै भाषामा गरेर हामीले दश लाख टिकट बेचिसकेका छौं । दक्षिण भारतका दर्शकले अत्यधिक रुचाउने अनुमान त छँदैथियो, हिन्दी बोल्ने दर्शकहरूले पनि यसको व्यग्र प्रतीक्षा गरिरहेका छन् । दक्षिणका सिनेमाघरहरूले बूकिङ खोलेपछि त झन् टिकट बिक्रीको संख्या ह्वात्तै बढेर जानेछ ।’
सन् २०१४ मा बाहुबली आउँदा कसैले पनि यत्तिको ठूलो ब्लकबस्टर भइदेला भनी कल्पना गरेको थिएन । त्यो फिल्मले सारा रेकर्ड तोडेपछि बाहुबली २ प्रतिको अपेक्षा बढेको हो ।
एसएस राजामौलीले निर्देशन गरेको फिल्ममा प्रभास, राणा दग्गुबती, तमन्ना भाटिया, अनुष्का शेट्टी र सत्यराजको प्रमुख भूमिका छ ।
फिल्म भोलि शुक्रवार रिलिज हुँदैछ ।
एजेन्सी