
'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
निकै रोमाञ्चक बनेको सेमिफाइनल खेलमा इंग्ल्याण्डलाई २–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ।
एक शून्यले पछि परेको अवस्थालाई खेलको अन्तिम समयमा उल्टाउँदै अर्जेन्टिनाले नाटकीय पुनरागमन गर्दै जित निकालेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको ५५ औँ मिनेटमा मोर्गन रोजर्सको पासमा एन्थोनी गोर्डनले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए। गोर्डनको गोलसँगै इंग्ल्याण्ड सन् १९६६ पछि पहिलो पटक विश्वकपको फाइनलमा पुग्ने ऐतिहासिक दिशामा अग्रसर देखिएको थियो। तर खेलको अन्तिम समयमा अर्जेन्टिना हाबी हुन पुगेको हो ।
००००
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा बिदा दिने निर्णयमा पुनःविचार गर्न नेपाल सरकारसँग माग गरेको छ ।
महासङ्घले बुधबार पत्रकार सम्मेलन गरेर वार्षिक पाठ्यभार पूरा हुन कठिन हुने र विद्यार्थीको शैक्षिक उपलब्धिमा प्रतिकूल असर पर्न सक्ने भएकाले आइतबार पनि विद्यालय सञ्चालन गर्न आग्रह गरेको हो । सरकारले इन्धनको आपूर्ति सहज तुल्याउन आइतबार सरकारी कार्यालय र विद्यालयमा समेत बिदा दिने निर्णय गरेको थियो ।
००००
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्यलाई यथावत राख्ने निर्णय गरेको छ।
इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट बुधबार प्राप्त नयाँ खरिद मूल्य बमोजिम निगमले साविककै मूल्यलाई निरन्तरता दिने निर्णय गरेको हो।
००००
नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजीबजार विकास मार्गचित्र, २०८३ अनुसार नेपालमा डिम्याट (हितग्राही) खाताको सङ्ख्या ७७ लाख ६६ हजार पाँच सय ६५ पुगेको छ ।
आर्थिक वर्ष २०७७/७८ सम्म नेपालमा करिब १७ लाख हाराहारीमा डिम्याट खाता खोलिएको थियो । अहिले नेपालको कूल जनसङ्ख्याको २६ प्रतिशतभन्दा बढी लगानीकर्ताको डिम्याट खाता रहेको बताइएको छ ।
००००
सरकारले बर्डफ्लुको कारण कुखुरा मरेपछि पीडित किसानलाई रु ५० करोड ७१ लाख राहत उपलब्ध गराएको छ ।
पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा मुकुल उपाध्यायका अनुसार हालसम्म झापा, मोरङ, सुनसरी, चितवन, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोका १०५ किसानलाई उक्त राहत उपलब्ध गराइएको हो ।
००००
नेपाली कांग्रेसले नेकपा एमालेले नेतृत्व गरेका प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने भएको छ ।
सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले)सँगको सहकार्यमा देखिएको असहजताका कारण कांग्रेसले एमालेसँगको गठबन्धनबारे पुनर्विचार गर्दै सरकारबाट बाहिरिने जनाएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले सुदूरपश्चिममा एमालेले सृजना गरेको अप्ठ्यारो परिस्थितिका कारण एमालेसँगको सहकार्यलाई निरन्तरता दिन नसकिने अवस्था आएको बताए ।
घिमिरेका अनुसार, कांग्रेसले अब एमालेसँगको गठबन्धनलाई पुनर्विचार गर्ने र एमाले नेतृत्वका सबै प्रदेश सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने भएको हो । कांग्रेसका मन्त्री कार्णालीबाट फिर्ता भइसकेका छन् भने कांग्रेसका मुख्यमन्त्रीले सुदूरपश्चिममा एमालेका मन्त्रीलाई बर्खास्त गरेका छन् ।
००००
नेपाली कांग्रेसका सभापति गगन थापाले नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेको भोलिपल्ट प्रदेश सरकारमा हलचल सृजना भएको छ ।
विगतमा भएको सहमति अनुसार एमाले नचलेको निष्कर्षसहित अन्य दलसँग पनि ढोका खोल्ने निर्णय मंगलबार कांग्रेस पदाधिकारी बैठकमा भएको थियो ।
सोही अनुसार सभापति थापाले प्रचण्डसँग भेटेर कुराकानी गरेका थिए । त्यसको भोलिपल्टै कर्णाली र सुदूरपश्चिम प्रदेशमा हलचल शुरू भएको हो । अब नयाँ समीकरण बनाउन छलफल सुरु भएको छ ।
००००
सांसदहरूलाई निर्वाचन क्षेत्र भ्रमण र मतदातासँग विमर्शका लागि भन्दै संघीय संसद्का दुवै सदनको बैठक १५ दिनलाई स्थगित गरिएको छ । साउन १४ गते बस्नेगरी सभामुखले प्रतिनिधिसभाको बैठक स्थगित गरेका छन् ।
००००
सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगले प्रकाशन गरेको ‘विवादित सार्वजनिक सूचना’ तत्कालका लागि खारेज गर्न अन्तरिम आदेश जारी गरेको छ ।
अदालतको यसअघिको आदेश विपरीत आयोगले सूचना निकालेको भन्दै परेको निवेदनमाथि सुनुवाइ गर्दै बुधबार सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले यस्तो आदेश दिएको हो ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार दोहोरो अङ्कले बढेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४ अङ्कले बढेर दुई हजार ५९० दशमलव २९ मा पुगेको छ ।
००००
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंका प्रस्थान गरेका छन् ।
कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा वामपन्थी शक्तिहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरनेशनल पिपुल्स एसेम्बलीको आयोजनामा श्रीलंकाको कोलम्बोमा यही जुलाई १६ देखि १८ सम्म आयोजना हुने द एशियन डायलग अन रिजनल स्टेबिलिटी एन्ड इकोनोमिक रेजिलिएन्समा सहभागी हुन उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन् ।
००००
प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिले एलपी ग्यासमा हुने कालोबजारी, कृत्रिम अभावलगायत समस्या नियन्त्रण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा बुधबार बसेको बैठकमा सभापति रहबर अन्सारीले ग्यासको सहज आपूर्तिको दीर्घकालीन व्यवस्थाका लागि पाइप विस्तारको सम्भावना र प्रभावसहित अध्ययन तथा अनुसन्धान गरी सात दिनभित्र समितिमा विवरण उपलब्ध गराउन निर्देशन दिएका हुन् ।
००००
काठमाडौंको माइतीघर मण्डलामा कृषकले सडकमा टमाटर फालेर सरकारविरुद्ध प्रदर्शन गरेका छन्।
सरकारले किसानलाई पर्याप्त अनुदान, उत्पादनको उचित मूल्य र बजारको सुनिश्चितता गर्न नसकेको तथा आयातमुखी नीतिका कारण स्वदेशी किसान मारमा परेको भन्दै उनीहरूले बुधबार आन्दोलन गरेका हुन् ।