
काठमाडौं — भारतको राँचीमा जन्ती लिएर पुगेको एक लोभी दुलाहाले दुलही त पाएन नै, उल्टो दुलहीपक्षले उसलाई जुत्ताको माला लगाएर शहर घुमायो ।

पिठौरिया थाना क्षेत्रको चंदवामा बुधवार लोभी दुलाहालाई मानिसहरूले जुत्ताको माला लगाइदिए र दहेज लोभी लेखिएको पोस्टर झुण्ड्याइदिए । त्यसपछि उसको टाउको मुडुलो बनाएर घर फर्काइदिए ।
मुमताज अन्सारी नामक दुलाहा बिहा गर्नलाई केटीको घर पुगे । राति उनीहरूको बिहे पनि भयो । सबै खुशी नै थिए । तर बिहानीपख दुलही लग्ने बेलामा चाहिँ अचानक उनले पल्सर बाइक दाइजो देऊ भन्न थाले ।
यो सुनेर दुलही पक्षको पारा तातेर आयो किनकि उनीहरूले पहिले नै प्यासन प्रो बाइक किनेर दिन ठिक्क पारेका थिए । तर दुलाहाले पल्सरै चाहियो भनेर अड्डी कस्न थाल्यो ।
झगडा बढ्दै जाँदा दुलहीले दुलाहाको घरै जान मानिनन् । अनि जन्ती आएका मानिस पनि हिँड्न थाले ।
बेस्सरी रिसाएका दुलही पक्षका मानिसले दुलाहालाई च्याप्प समातेर जुत्ताको माला लगाइदिए । दुलाहा र उसको भाइको कपाल मुण्डन गरिदिए अनि बिहेमा खर्च भएको पैसा सबै निकाल् भन्न थाले ।
पैसा फर्काउन तयार भएपछि दुलाहा र उनको भाइलाई छोडियो । दुलहीले उनीसँग बुधवार बिहान तलाक लिइन् र बेलुका उनको निकाह अर्को केटासँग भयो ।
एजेन्सी