१० असार २०८३, बुधबार

हिजो दिनभर : लकडाउनको मोडालिटी पेश गर्न उच्चस्तरीय समितिलाई मन्त्रिपरिषद्काे निर्देशन, नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ३४ पुग्यो

हिजो दिनभर : लकडाउनको मोडालिटी पेश गर्न उच्चस्तरीय समितिलाई मन्त्रिपरिषद्काे निर्देशन, नेपालमा कोरोना संक्रमितको संख्या  २ हजार ६ सय ३४ पुग्यो

लकडाउनको मोडालिटी पेश गर्न उच्चस्तरीय समितिलाई मन्त्रिपरिषद्काे निर्देशन
 

मन्त्रिपरिषद्को बिहीबारको बैठकमा कोरोना रोकथामका लागि अढाइ महिनादेखि जारी भएको लकडाउनमाथि छलफल भएको छ। 

व्यवसायीहरुले बिहीबार बिहान काठमाडौँ उपत्यकासहित मुख्य सहरमा लकडाउनको उल्लंघन गर्दै पसल सञ्चालन गरेको र लकडाउनको नयाँ ढाचा तय गर्नुपर्ने माग बढिरहेकाे सन्दर्भमा बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक बसेकाे थियाे।

मन्त्रिपरिषद् बैठकले लकडाउन मोडालिटी चाँडो पेश कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको एक मन्त्रीले जानकारी दिए। सरकारले उक्त समितिलाई यसअघि नै मोडालिटी तय गर्न भनिसकेको थियो। माेडालिटी तय भएकाे खबर यसअघि नै सार्वजनिक भइसकेका छन्।

प्रम ओलीले बुधबार मात्र लकडाउनको मोडालिटी र आगामी दिशाबारे विज्ञहरुसँग छलफल गरेका थिए।  पछिल्लो पटक थप गरिएको लकडाउन ३२ जेठमा सकिँदैछ। 
 

एकैदिन थपिए कोरोनाका ३ सय ३४ संक्रमित, कुल संख्या २ हजार ६ सय ३४ पुग्यो

नेपालमा कोरोनाभाइरस (कोभिड– १९) संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्र ३ सय ३४ जनामा कोभिड– १९ पोजेटिभ देखिएको जानकारी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

यो अहिलेसम्म एकै दिनमा देखिएको सबैभन्दा बढी संक्रमण हो ।

कोभिड– १९ निको भएर घर फर्किनेको संख्या भने २ सय ९० छ ।

कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुग्यो, मृतक पाल्पाका ४५ वर्षीय पुरुष

नेपालमा कोभिड- १९ बाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

पाल्पाको पूर्वखोला गाउँपालिकाका ४५ वर्षीय पुरुषको २० गते मृत्यु भएको, र मृत्यपछि आएको स्वाब परीक्षणको नतिजामा कोभिड– १९ पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

उनी भारतबाट फर्किएपछि स्थानीय क्वारेन्टाइनमा बसेका थिए । 

स्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई मिसन अस्पताल पाल्पामा भर्ना गरिएको थियो । अस्पतालमा उपचाररत रहँदा उनको मृत्यु भएको प्रवक्ता देवकोटाले बताए ।

प्रदेश सभाका ५ जना मर्यादापालकमा कोरोना पुष्टि भएपछि सांसदमा त्रास, बैठक स्थगित
२नम्बर प्रदेशको प्रदेश सभामा कार्यरत ५ जना मर्यादापालकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीले मर्यादापालकमा कोरोना देखिएको पुष्टि गरे ।

‘जेठ १५ गते प्रदेश सभामा कार्यरत रहेका मर्यादापालकको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएकोमा ५ जनाको कोरोना पोजेटिभ आएको छ,’ डीएसपी कार्कीले भने, ‘उहाँहरू सबै जना प्रदेश सभामा नै डुयुटी गर्नुहुन्थ्यो ।’

मर्यादापालकमा कोरोना देखिएपछि बिहीवार बोलाइएको प्रदेशसभा बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले बताए । ‘बिहीवार १ बजे बोलाइएको प्रदेश सभाको बैठक स्थगित गरेका छौं,’ सचिव यादवले भने, ‘अब भोलि शुक्रवार १ बजे बोलाउने बैठकलाई के गर्ने भन्ने निर्णय गर्न सभामुखज्यूले बैठक डाक्नुभएको छ ।’

बुधवार मात्रै प्रदेशसभा बैठक बसेको थियो । संक्रमित मर्यादापालक बुधवारको बैठकमा पनि उपस्थित भएका थिए । ५ जना मर्यादापालकमा कोरोना पाइएपछि सांसद, सचिवालयका कर्मचारी, अन्य मर्यादापालकसहित सुरक्षाकर्मीमा त्रास बढेको छ । 

धनुषाका ९ जना प्रहरीमा कोरोना

यससँगै धनुषा जिल्लामा ९ जना प्रहरीमा कोरोना संक्रमण पाइएको छ । डीएसपी कार्कीका अनुसार यसअघि धनुषा जिल्ला अदालतको १ नम्बर इजलाशका न्यायाधीशको व्यक्तिगत सुरक्षा गार्डका रुपमा खटिएका पीएसओमा समेत कोरोना पोजेटिभ देखिएको थियो ।

अदालतका न्यायाधीश घर बिदामा गएका कारण उनलाई त्यहाँबाट झिकाएर गोपाल धर्मशालामा सञ्चालित क्वारेन्टीनमा खटाइएको थियो । क्वारेन्टीनमा नै उनी संक्रमित भएको डीएसपी कार्कीले बताए । 

धनुषाको नगराइन नगरपालिकाको गंगुलीस्थित प्रादेशिक क्वारेन्टीनमा खटिएका इलाका प्रहरी कार्यालय फुलगामाका २ जना प्रहरीमा कोरोना पोजेटिभ पाइएको थियो । जनकपुरको हनुमाननगर चौकीमा कार्यरत रहेका १ जना प्रहरीमा समेत कोरोना पाइएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्