
‘भारतीय चेलीको दादागिरी’को विषयलाई लिएर सदनमा दैनिकजसो आवाज उठ्न थालेपछि सभामुख अग्नि सापकोटाले यस विषयमा आगामी दिनमा सदनमा टिकाटिप्पणी नगर्न सांसदहरूलाई रुलिङ गरेका छन् ।
गत १९ गते नेकपा सांसद गंगा चौधरी सत्गौवाले समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई लक्षित गर्दै ‘भारतीय चेलीको दादागिरी’ बढेको भनेर अभिव्यक्ति दिएपछि विवाद बल्झिएको हो ।
आइतवार राजपा सांसद चन्दा चौधरीले यो विषय उठाएर ‘भारतीय चेलीको दादागिरी’ भन्ने अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेपछि सभामुख सापकोटाले पुनः रुलिङ गरेका हुन । ‘त्यो विषयमा मैले रुलिङ गरिसकेको छु । सबै विवरण लिएर कार्यव्यवस्था परामर्श समितिका छलफल गर्छु । यो विषयमा नबोलौं, नत्र मैले माइक काट्नुपर्ने हुनसक्छ,’ सापकोटाले भने ।
सांसद चौधरीले नेपालको संसदमा गजेन्द्र नारायण सिंह, हृदेयश त्रिपाठी लगायत वंशज नागरिक पनि हिन्दी भाषामा बोल्दै आएको बताइन् । उनले हिन्दी बोल्दैमा भारतीय चेली नभन्न चुनौती दिइन् । उनले सरिता गिरी पटक-पटक सांसद र मन्त्री भएको स्मरण गर्न आग्रह गरिन् ।
चौधरी बोलेपछि सभामुख सापकोटाले व्यक्तिगत टिकाटिप्पणीमा नउत्रन सांसदहरुको ध्यानाकर्षण गराए । ‘केही कुरा स्पष्ट पार्न चाहन्छु । माननीय सदस्यले बोल्ने क्रममा आरोप-प्रत्यारोप जस्तो भएको छ । नियमावलीको २१ को (ङ)तिर हेर्न आग्रह गर्छु,’ सापकोटाले भने, ‘सबैको बुद्धि विकेक लगाएर सदन चलाइरहेका छौं । राष्ट्रिय महत्त्वका काम गरेर महत्त्वपूर्ण सन्देश दिन गइसकेको समयमा व्यक्तिगत आरोप प्रत्यारोप र टिकाटिप्पणी नगरौं । कार्यव्यवस्थामा सबै विवाद पल्टाएर हेर्नेछौं । सबैको यथोचित छानबिन हुनेछ ।’
नेपालको नक्सा प्रकाशित गरेको विषयमा सरिता गिरीले दिएको अभिव्यक्तिलाई लिएर नेकपा सांसद गंगा चौधरीले गिरीको नाम उच्चारण नगरी ‘भारतीय चेलीको दादागिरी’ बढेको बताएकी थिइन् । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा पनि राजपा र समाजवादी पार्टीका सांसदले सो आरोप संसदको रेकर्डबाट हटाउन माग गरेका थिए ।