राष्ट्रिय जनता पार्टी (राजपा)की सांसद चन्दा चौधरीले ‘नेपालको संसद्मा भारतीय चेलीको दादागिरी’ बढेको भन्ने नेकपा सांसद गंगा चौधरी सत्गौवाको अभिव्यक्ति संसदको रेकर्डबाट नहटाएसम्म आफूहरूले आवाज उठाइरहने बताएकी छिन् । उनले गणतन्त्रमा पनि ‘एक भाषा एक भेष’को महेन्द्रवादी चिन्तन हटाउन चुनौती दिइन् ।
आइतवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुखसँग विशेष समय लिएर सांसद चौधरीले नेपालको नागरिता लिएर संसद्मा आइसकेको व्यक्तिलाई भारतीय चेलीको आरोप नलगाउन चुनौती दिएकी हुन् ।
‘नेपालको संसद्मा गजेन्द्रनारायण सिंह, हृदेयश त्रिपाठी लगायत वंशज नागरिक पनि हिन्दी भाषामा बोल्दै आउनुभएको थियो, के उहाँहरू भारतीय हो ?’ उनले प्रश्न गरिन् ।
सांसद चौधरीने नेपाल–भारत सम्बन्ध, बिहेवारी, मधेसको इतिहास र भाषाबारे संसद्मा घण्टौंसम्म तार्किक बहस गर्न तयार रहेको बताइन् । सांसद चौधरीले यति बोल्दै गर्दा सभामुख अग्नि सापकोटाले यो विषयबारे आफूले रुलिङ गरिसकेको र कार्यव्यवस्था समितिमा विवाद पल्टाएर हेर्ने र यथोचित निर्णय दिने बताएका थिए ।
सांसद चौधरीले त्यो आपत्तिजनक अभिव्यक्ति संसद्को रेकर्डबाट नहटाएसम्म आफूहरूले बोल्न नछाड्ने बताइन् ।
‘जब कोही महिला नेपालको संविधान र कानूनअनुसार संसद्मा पुग्छ भने उसलाई भारतीय चेलीको आरोप लगाउने कुरा किमार्थ स्वीकार्न सकिँदैन । यो संसद् सदस्यमाथिकै अपमान हो,’ बैठकपछि सांसद चौधरीले भनिन् । आफूले धेरै बोल्न खोजेपनि सभामुखले माइक काटेका कारण सबै कुरा राख्न नपाएको उनले बताइन् ।
यो विषयलाइ लिएर पछिल्ला बैठकमा लगातार कुरा उठिरहेको छ । ‘भाषा भनेको सहजताका लागि बोलिने कुरा हो, सांसदको सपथ गराउँदा नै भाषा रोज्न दिइएको थियो । विगतदेखि नै नेपालको संसदमा हिन्दी भाषामा बोल्ने गरिएको छ भने अहिले आएर आपत्ति किन ?’ चौधरीले प्रश्न गरिन् ।
नेपालको नक्सा प्रकाशित गरेको विषयमा सरिता गिरीले दिएको अभिव्यक्तिलाई लिएर नेकपा सांसद गंगा चौधरीले गिरीको नाम उच्चारण नगरी ‘भारतीय चेलीको दादागिरी’ बढेको बताएकी थिइन् ।
शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा पनि राजपा र समाजवादी पार्टीका सांसदले सो आरोप संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए ।
‘म नेपालको राष्ट्रियता, मधेसको राष्ट्रियता, नेपाल–भारतको विहेबारी, नेपाल–भारत सम्बन्धबारे घण्टौं लजिकल टक गर्न सक्छु । ‘एकभाषा एक भुसा’ चाहिएको थियो त, किन मधेस आन्दोलन भयो, गणतन्त्र र राजतन्त्रको फरक के रह्यो ?’ चौधरीले प्रश्न गरिन् ।