११ असार २०८३, बिहीबार

हिजो दिनभर : जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता, मुलुकभर कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुग्यो

हिजो दिनभर : जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता, मुलुकभर कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुग्यो

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

 तत्कालीन  समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल एकीकृत भएर बनेको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।

 जनता समाजवादी पार्टी आइतबार साँझ दर्ता नम्बर १३९२ मा दर्ता भएको हो। जनता पार्टीको केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहेका छन्।

दल दर्ताका लागि बाबुराम भटराई, महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतोलगायतका नेताहरु आइतबार साँझ आयोगको कार्यालय   कान्तिपथ पुगेका  थिए।

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि ती दुई दलबीच वैशाख १० गते मध्यरातमा पार्टी एकताका लागि सहमति जुटेको थियो । 

२८ वटा स्वास्थ्य सुरक्षा सामग्रीको गुणस्तर र मापदण्ड तोकियो
नेपाल गुणस्तर तथा नापतौल विभागले चिकित्सकले सुरक्षाका लागि लगाउने व्यक्तिगत सुरक्षा सामग्रीमध्ये २८ वटा सामग्रीको गुणस्तर र मापदण्ड तोकेको छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको अध्यक्षतामा बसेको नेपाल गुणस्तर परिषदको १ सय ४ औं बैठकले २८ वटा सामग्रीको गुणस्तर तोकेको विभागले एक प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ ।

विद्युतीय सवारीसाधनमा लगाइएकाे कर पुनरावलोकन गर्न सांसद भुसालकाे माग
सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेत्री पम्फा भुसालले विद्युतीय सवारी साधन आयातमा लगाइएकाे भन्सार शुल्क पुनरावलोकन गर्न माग गरेकी छन्।

प्रतिनिधिसभामा  विनियोजन विधेयक २०७७ का  विभिन्न शीर्षकमाथि जारी छलफलमा भाग लिँदै सांसद भुसालले भनिनन्, ' विद्युतीय गाडी आयात र भन्सार शुल्कसम्बन्धी निर्णय राष्ट्रहितका पक्षमा छैन। पुनरावलोकन गर्नुपर्छ।

बजेटमा गरीबीको रेखामुनि रहेका केही प्रतिशत जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने कार्य सुधारोन्मुख रहे पनि अपर्याप्त  रहेको उनकाे भनाइ छ। भुसालले विकासको आधारभूत पूर्वाधार  विद्युत् भएकाले ऊर्जा  उत्पादनमा राज्यले लगानी गर्नुपर्ने बताइन्।  'सिंचाइँ र खानेपानीका लागि जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउनुपर्छ, पार्टीको चुनावी घोषणापत्र र समाजवादउन्मुख अर्थतन्त्रलाई अघि बढाउन कृषिमा आधारित उद्योग, पर्यटन र ऊर्जा क्षेत्रलाई प्राथमिकीकरण गरी लगानी गर्नुपर्छ,' उनले भनिन्।

लाइभ अपडेटबाट धेरै कुरा सिकेको भन्दै स्वास्थ्य मन्त्रालयको प्रवक्ताबाट देवकोटाले मागे विदा
प्रत्येक दिन मिडिया ब्रिफिङमार्फत् कोरोना संक्रमणका बारेमा अपडेट दिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटा गुणस्तर तथा नियमन महाशाखामा सरुवा भएका छन् ।

आइतवार ब्रिफिङपछि उनले आफ्नो ठाउँमा डाक्टर जागेश्वर गौतम आउने बताए ।

'हामीले चैत ११ गतेदेखि मन्त्रालयबाट लाइभ शुरू गरेका थियौं,' उनले भने, 'आजसम्म ७६ दिन लाइभ गरियो । यसले मलाई धेरै कुरा सिकायो । म सरुवा भएर गएपछि भोलिबाट डाक्टर जागेश्वर गौतमले लाइभ गर्नुहुनेछ ।'

उनले मिडियाकर्मी र सम्बन्धित सबैलाई धन्यवाद भनेर मिडिया ब्रिफिङबाट विदा लिएका छन् ।

पछिल्लो २४ घण्टामा थपिए २ सय १३ कोरोना संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २ सय १३ मा नयाँ संक्रमण पुष्टि भएको जनाएको छ ।

आइतवार नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डाक्टर  विकास देवकोटाले थप २ सय १३ मा नयाँ संक्रमण देखिएको बताएका हुन् ।

यससँगै नेपालमा कूल संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ भने हालसम्म ४ सय ६७ जना निको भएर डिस्चार्ज भएका छन् ।

एकै दिन एक सयले जिते कोभिड–१९

नेपालमा आज एकै दिन १०२ कोभिड–१९ का सङ्क्रमित उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म ४ सय ६७ जनाले कोभिड–१९ लाई जितेका छन् ।

कोभिड–१९ का सङ्क्रमित दिनहँु बढिरहे पनि निको भएर घर फर्कनेका सङ्ख्या पनि क्रमिक रुपमा बढ्दै गएको छ । शनिबार ३२ जनाको कोभिड–१९ जितेर घर फर्केका थिए भने त्यसअघि शुक्रबार एकै दिन ४३ जनाले सङ्क्रमण जितेका थिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा देवकोटाले आज विभिन्न अस्पतालबाट १०२ जना डिस्चार्ज भएका जानकारी दिए ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा देवकोटाले आज डिस्चार्जमध्ये दुई महिला र १०० पुरुष रहेको बताउनुभयो । अहिलेसम्म डिस्चार्ज हुनेको सङ्ख्या ४६७ पुगेको छ । तीमध्ये पुरुष ३९९ र महिला ६८ जना रहेका छन् ।

उनीहरुमध्ये धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १२ जना छन् । ती सबै झापाका हुन् । त्यस्तै बाराका ३४ र महोत्तरीका एकजना छन् । बुटवल कोरोना अस्पतालबाट २७ जना डिस्चार्ज भएका छन् । उनीहरु रुपन्देही र कपिलवस्तुका हुन् । कोरोना विशेष अस्पताल दाङबाट बाँके बर्दिया र कपिलवस्तु र दाङका १० जना डिस्चार्ज भएका छन् । रौतहट गौरबाट सबै रौतहटका १८ जनाले कोभिड जितेर घर फर्किएका छन् ।

आज २ सय १३ सङ्क्रमित थपिए

मन्त्रालयको पछिल्लो अपटेडअनुसार देशका विभिन्न प्रयोगशालामा गरिएका परीक्षणबाट नयाँ सङ्क्रमितको सङ्ख्या २१३ रहेको छ । तीमध्ये २०९ पुरुष र चार महिला छन् । योसँगै देशभरको हालसम्म कूल सङ्क्रमित सङ्ख्या तीन हजार ४४८ पुगेको छ ।

यीमध्ये पुरुष तीन हजार २१२ र महिला २३६ रहेका छन् । हालसम्म देशका ७१ जिल्लामा कोभिड–१९ को सङ्क्रमण फैलिएको मन्त्रालयले जनाएको छ ।

९६ हजारको पिसिआर परीक्षण

प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म पिसिआर विधिबाट कूल ९६ हजार २०५ व्यक्तिको परीक्षण गरिएको छ । त्यसैगरी आरडिटीबाट एक लाख ४५ हजार ४९ व्यक्तिको परीक्षण गरिएको छ ।

गत २४ घण्टामा पिसिआर विधिबाट तीन हजार ७२८ र आरडिटी विधिबाट सात हजार ६१४ वटा परीक्षण सम्पन्न भएको प्रवक्ता डा देवकोटाले बताए । हाल सातै प्रदेशमा गरी एक लाख ७० हजार ७३२ जना क्वारेन्टिनमा रहेका छन् । त्यस्तै विभिन्न अस्पतालका आइसोलेशनमा कूल दुई हजार ९६८ सङ्क्रमित व्यक्ति उपचाररत रहेका छन् ।

क्वारेन्टिन व्यवस्थापन र अस्पतालको आइसोलेशन व्यवस्थापनका लागि मन्त्रालयले विशेष ध्यान दिएको प्रवक्ता डा देवकोटाले बताए । यसै सन्दर्भमा मन्त्रालयले देशभरका सबै किसिमका अस्पतालबाट के कस्ता सेवा सञ्चालन भएका छन् र हुनुपर्ने सेवा किन भइरहेको छैन भनी अनुगमन, सुरक्षाको व्यवस्थापन र नियमन गर्ने उद्देश्यले एक समिति गठन गरेको छ ।

स्वास्थ्य मन्त्रालयको गुणस्तर तथा नियमन महाशाखा प्रमुखको संयोजकत्वमा कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी), नेपाल मेडिकल काउन्सिल र नेपाल चिकित्सक सङ्घ तथा निजी अस्पतालका छाता सङ्गठनको प्रतिनिधित्व रहने गरी समिति गठन गर्ने निर्णय भएको प्रवक्ता डा देवकोटाले जानकारी दिए ।

प्रवक्तामा गौतम

मन्त्रालयको प्रवक्ताको जिम्मा मन्त्रालयकै डा जागेश्वरप्रसाद गौतमले सम्हाल्नु हुने भएको छ । उहाँले सोमबारदेखि लाइभ प्रसारण गर्नेछन् । डा गौतम यसअघि परोपकार तथा प्रसूतिगृहका कार्यकारी निर्देशक थिए । डा देवकोटाको गुणस्तर तथा नियन्त्रण महाशाखामा सरुवा भएको छ ।

प्रवक्ता डा देवकोटाले चैत ११ देखि ७६ दिन लाइभ अपडेटले अफूलाई धेरै कुरा सिकाएको भन्दै सञ्चारमाध्यम र सञ्चारकर्मीलाई धन्यवाद दिए । उनले आफ्नो जिम्मेवारी हेरफेर भए पनि लाइभ प्रसारण निरन्तर रहने र यसमा सहयोग गर्न सरोकारवालालाई आग्रह गरे ।

salt training

कमेन्ट गर्नुहोस्