
कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले दैनिक एक हजार नागरिकको पिसीआर प्रविधिबाट कोरोना परीक्षण गर्ने तयारी भइरहेको बताएका छन्। कर्णाली प्रदेशसभाको प्रदेश मामिला तथा विधायन समितिको आज बसेको बैठकमा उहाँले हाल दैनिक ३ सय जनाको परीक्षण भइरहेकामा अब नयाँ मेसिन जडान गरेर एक हजार जनाको पिसीआर परीक्षण गर्ने बताए।
समितिले मन्त्री रावललाई बैठकमा बोलाएर कर्णालीमा कोरोना सङ्क्रमण, जोखिमको अवस्था, नियन्त्रण प्रयास, पिसीआर जाँच, स्वास्थ्यकर्मीको अवस्थालगायतका विषयमा छलफल गरेको हो। प्रदेशसभा सदस्यहरुको प्रश्नको जवाफ दिँदै उहाँले सुर्खेतमा जडान गर्ने गरी पिसीआर मेसिन खरीदको प्रक्रिया शुरु भइसकेको जानकारी दिए।
मन्त्री रावलले टेकुको केन्द्रीय प्रयोगशालाको भन्दा प्रदेशहरुमा पिसीआर जाँच बढी कर्णालीमै हुने गरेको तथ्याङ्क प्रस्तुत गरे। । 'कर्णाली प्रदेशले हालसम्म १० हजार १८४ जनाको पिसिआर जाँच गरेको छ,' उनले भने, 'नौ हजार १२४ जनाको नतिजा नेगेटिभ र ६.३४ प्रतिशतमा कोरोना सङ्क्रमण देखिएको छ, २२ हजार ९०५ को दु्रत विधिको आरडिटी परीक्षण गरिएको छ ।'
बैठकमा मन्त्री रावलले २७ स्थानीय तहमा ५०/५० बेडका आइसोलेशन वार्ड स्थापनाको कार्य पनि अघि बढाइसकेको जानकारी दिए।