०५ साउन २०८३, मंगलबार

गगन थापालाई ओलीको जवाफ– 'कुनै डाक्टर वा वैज्ञानिकले चुनौती दिए मात्र स्वीकारौंला'

गगन थापालाई ओलीको जवाफ– 'कुनै डाक्टर वा वैज्ञानिकले चुनौती दिए मात्र स्वीकारौंला'

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको रोग प्रतिरोधात्मक क्षमता बलियो रहेको दाबी गर्दै कुनै डाक्टर वैज्ञानिक या शोधकर्ताबाट चुनौती आएमा मात्र स्वीकार्ने बताएका छन् । 

नयाँ शैली भनेर पिज्जातर्फ कुद्नुभन्दा ढिंडो र साग नै सही रहेको उनले बताए । 

बुधवार प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद गगन थापाले ‘नेपालीको प्रतिरोधी क्षमता राम्रो छ भनेर कसले भन्यो ?’ भन्ने प्रश्न गरेपछि जवाफमा ओलीले स्वतःसिद्ध प्रमाणित भएको विषय भएको बताए । 

‘एकजना माननीय सदस्यले नेपालीको रोग प्रतिरोधी क्षमता राम्रो छ भनेर कसले भन्यो भनेर सोध्नुभयो ? भर्खरै सुन्नुभयो नि ! मैले भनेको, मैले भनेको हो । नेपालीको प्रतिरोधी क्षमाता राम्रो छ भन्ने कुराको चुनौती कुनै डाक्टर, वैज्ञानिक, शोधकर्ताबाट आयो भने मैले स्वीकारौंला,’ ओलीले भने ‘नेपालीको प्रतिरोधी क्षमता राम्रो हुनुमा आधा नेपाली हिमाली पहाडी भेगतिर उकाली ओराली गरेका छन्, स्टामिना बलियो छ । तराईमा बस्नेले पनि हिमालबाट ठोक्किएर आएको हावा खाएका छन् । मरुभूमिबाट तातोहावा आयो भने हिमाल नजिकै पुग्दा कायल भइसक्छ, हिमालसँग ठोक्किएर फर्किएको हावामा सास फेरेका छन् । यो देश, झार उम्रियो भने यार्सागुम्बा भएर निस्कने देश, ढुंगाबाट शिलाजित झर्ने यो देश औषधिको देश हो, यस देशको पानी हिमालमाथि बसेर पग्लिएर अनेकन मिनरल तत्वसँग रसाएर निस्केको पानी हो । त्यसकारण यो उकाली ओराली गर्ने शारीकि श्रम गर्नेको स्वभाविक कुरा हो । योगाको ट्रेडिसन छ, यस देशमा । जहाँ योगा पैदा भयो, इम्युन सिस्टम तगडा छ भन्न्ने कुरा स्पष्ट सिद्ध छ ।’

ओलीले नेपालीहरूको भान्सामा औषधीय तत्वहरू प्रयोग भइरहेको भन्दै नयाँको नाममा पिज्जा संस्कृतिमा जान नहुने बताए ।

‘हाम्रो भान्सामा पाउरोटीमा बटर दलेर खाने होइन, दालचामल, मकै, भटमास हुन्छन्, बेसार अनिवार्य हुन्छ, नुन, जिरा धनिया लसुन अदुवा अनिवार्य हुन्छ । यी सबै औषधी हुन् । हरेक दिन औषधी खाएको नेपालीको प्रतिरोध क्षमता माथि हुन्छ भन्ने कुरा स्वतः सिद्ध  छ । अवश्य राम्रो छ, यसलाई हाम्रा परम्परागत तरिका, भान्साको तरिकामा कायम रहनुपर्छ, नयाँ शैली भनेर पिज्जातर्फ कुद्नुभन्दा ढिंडो र साग नै सही छ,’ ओलीले भने । 

salt training

कमेन्ट गर्नुहोस्