०९ असार २०८३, मंगलबार

कोरोना संक्रमणको जोखिम बढेपछि गल्याङ बजार बन्द

जेठ ३१, २०७७
कोरोना संक्रमणको जोखिम बढेपछि गल्याङ बजार बन्द

समुदायस्तरमै कोरोनाको उच्च जोखिम बढेपछि स्याङ्जाको गल्याङ बजार एक साताका लागि बन्द गरिएको छ । सरकारले लकडाउन खुकुलो पार्दै बजार पसल खोल्न सकिने बताए पनि सोको २ दिन नबित्दै जिल्लाको व्यस्त बजार गल्याङ बन्द हुन पुगेको हो । 

शुक्रवार नगर बैठकले कोरोना संक्रमण समुदायस्तरमै फैलिने क्रममा रहेको निष्कर्ष निकाल्दै साता दिनका लागि नगर बन्द गर्ने निर्णय गरेकोमा शनिबारदेखि बिहानैदेखि औषधी पसल, दूध डेरी र तरकारीबाहेक सबै बजार पसल बन्द छन् । नगरभित्र बित्तीय संस्था र खाद्यान्न पसलहरू पनि बन्द गरिएको छ । 

नगरप्रमुख भूपराज अधिकारीले खाद्यान्नका सवारीसाधन समेत बन्द हुने भन्दै स्वास्थ्यका लागि एकजुट हुने बेला आएको बताए । उनले गल्याङ नगरवासीको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएको हुँदा सुरक्षित र सचेत रहन सम्पूर्ण नगरवासीमा आग्रह गरे । 

नगर बैठकमा सरोकारवाला निकायहरू वडाध्यक्ष, गल्याङ उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स तथा कालीगण्डकी यातायात समितिका प्रतिनिधि, सुरक्षाकर्मी लगायतको उपस्थिति थियो । 

भारत सीमानाकाबाट उद्धार गरी ल्याइएका व्यक्तिहरूसहित शुक्रबार एकैपटक १८ जनामा कोरोना भाइरस संक्रमण देखिएको थियो । गल्याङ बहुमुखी क्याम्पसमा निर्मित क्वारेन्टाइनमा उनीहरू सहित ९५ जना बस्दैआएका थिए ।

क्वारेन्टाइन सरसफाइमा कार्यरत गल्याङकै एक दम्पतीमा कोरोना भाइरस पुष्टि भएको थियो । संक्रमितको कन्ट्याक्ट टे«सिङ गरी परीक्षण तयारी गरिएको छ ।  जसमा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी सहितका व्यक्तिहरू रहेका छन् । 

यसबीचमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र उच्च सतर्कता अपनाउन नगरपालिकाले आग्रह गरेको छ । सिद्धार्थ राजमार्गकाे साे सडकखण्डमा लामाे दुरीका सवारीसाधनलाई भने छेकबार छैन ।
संक्रमितको भने भीरकोटको हेलुस्थित कालिका सामुदायिक अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ । 

स्याङ्जामा हालसम्म ६० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । धमाधम कोरोना संक्रमित देखिन थालेपछि गल्याङमै पनि नगर स्वास्थ्य अस्पतालमा कम्तीमा ५० बेडको आइसोलेसन वार्ड थप्ने तयारी छ । 
यता, गण्डकी प्रदेशमा शनिबार ५ जनामा काेराेना भेटिएसँगै कुल १ सय ९७ पुगेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्