
जनता समाजवादी पार्टी (जसपा) ले संविधानका कतिपय प्रावधानमा कैयौ असन्तुष्टि भएपनि देशको भूमिको सवालमा अन्य कुरालाई थाती राख्दै संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने बताएको छ ।
संविधान संशोधन विधेयक २०७७ माथि शनिवार प्रतिनिधि सभामा भएको दफावार छलफलमा भाग लिँदै जपसाका नेता राजेन्द्र महतोले आफूहरूको राष्ट्रियता माथिको प्रश्नमा अग्निपरीक्षा नलिन आग्रह गरेका हुन् ।
‘संविधानप्रति पूरै असन्तुष्टि छ, हाम्रा असन्तुष्टिहरू कायम छन् । आज देश राष्ट्रियता र हाम्रो भूमिको सवाल उठेको छ, सबै कुरालाई थाती राख्दै संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने छौं,’ महतोले भने, ‘आजको दिनदेखि यो त मधेशी राष्ट्रघाती हो, कुण्ठा बोकेकाले आजदेखि त्यो चिन्तन हटाइदिनुस्, राष्ट्रियताको पक्षमा हामीले कति अग्निपरीक्षामा भाग लिने ?’
महतोले नेपाल–भारत सम्बन्ध केपी ओली र नरेन्द्र मोदीले नबनाएको भन्दै वार्ताको माहौल बनाएर जमिन फिर्ता लिन माग गरेका छन् ।