
प्रतिनिधि सभामा शनिवार भएको मतदानमा २५८ जना सांसदले मतदान गरेका छन् ।
प्रतिनिधि सभामा रहेका २७५ मध्ये ४ जना सांसद निलम्बनमा छन् भने ११ जना सांसद आजको बैठकमा अनुपस्थित थिए ।
शनिवार प्रतिनिधिसभा बैठकमा भएको मतविभाजनमा २६० सांसदले भाग लिएका थिए । जसमध्ये सभामुख अग्नि सापकोटा मतदानमा सहभागी भएनन् । मत बराबर भएको अवस्थामा मात्र सभामुखले निर्णायक मत दिने परम्परा छ ।
समाजवादी पार्टीकी सांसद सरिता गिरीले शनिवारको संसदमा सहभागी भएर बहिष्कार गर्दै बाहिरिइन् । आफ्नो संशोधन प्रस्ताव अस्वीकृत भएका कारण गिरी शुरूमै बैठक छाडेर हिँडिन् ।
नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले संविधान संशोधन विधेयकमाथि भएको मतदानमा भोट हाल्न पाएनन् । बालुवाटार जग्गा प्रकरणमा दोषी भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा चलाएपछि गच्छदारको सांसद पद निलम्बनमा छ ।
राजपाका सांसद रेशमलाल चौधरीले पनि संविधान संशोधन विधेयकमा मतदान गर्न पाएनन् । २०७२ सालमा टीकापुरमा भएको घटनाको योजनाकारको रुपमा अदालतबाट सजाय पाएपछि उनी डिल्लीबजार जेलमा छन् । उनले गत वर्ष सांसदको शपथ गरेर लोगो लगाएका थिए ।
२०६४ सालको संविधानसभा चुनावको पूर्वसन्ध्यामा भएको विस्फोटका घाइतेलाई इँटाभट्टामा जलाएको आरोपमा नख्खु जेलमा रहेका कांग्रेस सांसद मोहमद अफ्ताव आलमले पनि आज मतदान गर्न पाएनन् ।
समाजवादी पार्टीका सांसद हरिनारायण रौनियारले पनि शनिवार संविधान संशोधन विधेयकमा भोट हाल्न पाएनन् । सरकारी ठेक्काको काममा बदमासी गरेको भन्दै उनीविरुद्ध अख्तियारले मुद्धा दायर गरेपछि उनको सांसद पद पनि निलम्बनमा छ ।
शनिवारको प्रतिनिधिसभा बैठकमा राजपाकी अमृता अग्रहरी लगायतका अनुपस्थित थिइन् । शनिवारको बैठकमा अनुपस्थितको नाम केही समयमा यकिन हुने सचिवालयका एक अधिकारीले जानकारी दिए ।