२७ असार २०८३, शनिबार

पहिरोले दुई परिवारका नौ जनाको मृत्यु

जेठ ३२, २०७७
पहिरोले दुई परिवारका नौ जनाको मृत्यु

पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको काहुलेमा बस्तीभन्दा माथिबाट आएको पहिरोले पुरिएर दुई घरपरिवारका नौजनाको मृत्यु भएको छ । शनिबार राति ७ बजेपछि आएको वर्षासहितको पहिरोले स्थानीय तुलबहादुर थापाको परिवारका ६ र विकास विकको परिवारका तीन जनालाई पहिरोले पुरेको छ। 

पहिरोले पुरिनेमा ५३ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मीनकुमारी थापा, नातिनी आठ वर्षीया बिबिसा र नाति १४ वर्षीय सम्राट थापा, तुलबहादुरकी विवाहित छोरी ३४ वर्षीया दीपा थापा र दीपाका छोरा १७ वर्षीय विवेक थापाको मृत्यु भएको छ। 

त्यसैगरी विकास विककी श्रीमती ३२ वर्षीया कमला विक तथा उनकी छोरी ८ वर्षीया प्रमिशा विक र १३ वर्षीय जेनिस विक पनि पहिरोले पुरिएर ज्यान गएको छ। समाचार तयार पार्दासम्म जेनिश विकको शव भने भेटिएको थिएन। खोजी कार्य जारी रहेको छ।  

तुलबहादुरका छोरा अम्मर थापा र बुहारी रिमाया थापा भने ज्यान जोगाउन सफल भएका छन्। उनीहरु घरदेखि झण्डै पाँच सय मिटर परको डाँडामा पसल सञ्चालन गर्दै आएका थिए। उनीहरु पसलमै रहेका कारण ज्यान जोगिएको स्थानीय ऋषिराम पौडेलले जानकारी दिए। 

कमला विकका श्रीमान् विकास विक भने रोजगारीका लागि साउदीमा छन्। उनी लकडाउन खुलेलगत्तै स्वदेश फर्किने तयारीमा थिए। तुलबहादुरी छोरी दीपाको घर बागलुङको जैमिनी नगरपालिका–१ पैँयुथन्थाप हो। उनी कुश्माबजारमा छोरा पढाएर बस्दै आए पनि यतिबेला माइतीमा बसेकी थिइन्। उनका श्रीमान्समेत रोजगारीका लागि खाडी मुलुक साउदीमा रहेका छन्। 

पहिरो गएलगत्तै कुश्माबाट पुगेको तीनवटै सुरक्षाकर्मी र स्थानीयवासीको सक्रियतामा राति १ बजेसम्म तीन र बिहान पाँचवटा शव निकालिएको हो। जेनिश विकको भने खोजी भइरहेको पर्वतका प्रहरी प्रमुख विश्वराज अधिकारीले बताए। मृतकहरुको शव दिनभरि स्थानीय स्वास्थ्य चौकीमा राखेर साँझ परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याइएको छ। परीक्षण सकिएपछि सोमबार सामूहिक दाहसंस्कार गरिने स्थानीय प्रभु गुरुङले जानकारी दिए।  

पहिरोबाट बस्ती आसपासमा रहेका झण्डै आधा दर्जन घर जोखिममा परेका छन् । उनीहरुलाई सुरक्षित स्थानमा बस्न प्रशासनले आग्रह गरेको छ । उनीहरुको पुख्र्यौली बसोबास सोही गाउँको ढकालवारीमा थियो । सो स्थानमा समेत पहिरो र बाढीको समस्या भएपछि पाँच वर्षअघि मात्र जग्गा किनेर काउलेमा आएका थिए। 

यसैबीच पीडितलाई समवेदना दिनका लागि राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, प्रतिनिधिसभाका सांसद पदम गिरी, गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री हरिबहादुर चुमान, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्साल, नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीलगायत गाउँ पुगेका थिए। प्रदेश सरकारले प्रतिव्यक्ति ५० हजारका दरले राहत रकम पीडित परिवारलाई हस्तान्तरण गरेको छ भने जिल्ला दैवीप्रकोप उद्धार समितिले पनि पीडित परिवारलाई रु एक लाखका दरले राहत प्रदान गरेको छ।  

कमेन्ट गर्नुहोस्