
पछिल्लो २४ घण्टामा थपिए ४ सय २५ कोरोना संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ४ सय २५ संक्रमित थपिएको जनाएको छ ।
आइतवार नियमित ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले थप नयाँ पुष्टि हुनेको संख्या ४ सय २५ रहेको जनाएका हुन् ।
यससँगै नेपालमा जम्मा संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ ।
प्रवक्ता गौतमले विराटनगरमा गरिएको परीक्षणमा मोरङका २५, सुनसरीका १, झापाका १ जनामा संक्रमण देखिएको बताए ।
त्यस्तै कोशीमा गरिएको परीक्षणमा सप्तरीका १० जना, हेटौंडामा गरिएको परीक्षणमा पर्साका १७, बाराका ९, सर्लाहीका १ र रौतहटका ७ जनामा संक्रमण देखिएको हो ।
गौतमका अनुसार पोखरामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका २ जनामा संक्रमण देखिएको छ भने सेती अस्पतालमा गरिएको परीक्षणमा बझाङका ५, डडेल्धुराका २४, डोटीका ३, कैलालीका १२ र कंचनपुरका २० जनामा संक्रमण देखिएको छ ।
भेरी अस्पतालमा गरिएको परीक्षणमा बर्दियाका ३, बाँकेका ३ र रुकुम पश्चिमका १ जनामा संक्रमण देखिएको छ ।
राप्ति प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा प्युठानका २ र दाङका ५४ जनामा संक्रमण देखिएको छ भने, जनकपुरमा गरिएको परीक्षणमा रौतहटका १७ र धनुषाका १ जनामा संक्रमण देखिएको हो ।
त्यस्तै धुलिखेलमा गरिएको परीक्षणमा रामेछापका २, रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका ८, नवलपरासी पश्चिमका २, रुपन्देहीका २० र पाल्पाका १७ जनामा संक्रमण देखिएको छ ।
सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ४० र दैलेखका २९ जनामा संक्रमण देखिएको छ भने हेटौंडामा गरिएको परीक्षणमा रौतहटका १ र सिन्धुलीका १ जनामा कोरोना संक्रमण देखिएको छ ।
शुक्रराज ट्रपिकल अस्पतालमा गरिएको परीक्षणमा धादिङका २५ जनामा नयाँ संक्रमण देखिएको हो ।
त्यस्तै काठमाडौँको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटका ५१, रुपन्देहीका ६ र सर्लाहीका ५ जनामा संक्रमण देखिएको छ ।
अध्यक्ष र महासचिवको कार्यव्यस्तताका कारण नेकपा सचिवालय बैठक स्थगित
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीको आइतवार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ ।
अमेरिकी सहयोग परियोजना (एमसीसी)का बारेमा छलफल गर्न बोलाइएको बैठक अध्यक्ष र महासचिवको कार्यव्यस्तताका कारण स्थगित भएको सचिवालयका एक सदस्यले जानकारी दिए ।
'अध्यक्ष तथा प्रधानमन्त्री ओली र महासचिव विष्णु पौडेलको कार्यव्यस्तताका कारण बैठक स्थगित गरिएको सूचना आएको छ,' ती सचिवालय सदस्यले लोकान्तरसँग भने ।
नेकपा सचिवालय बैठक यसअघि २७ गते पनि स्थगित भएको थियो ।
चौरजहारी घटना: वडाध्यक्षसहित ३४ जनाविरुद्ध मुद्दा दर्ता
चौरजहारी नगरपालिका-८, सोतीगाउँमा भएको घटनामा संलग्न रहेको आरोपमा ३४ जना विरुद्ध आइतबार अभियोग दर्ता भएको छ।
पक्राउ परेका र फरार रहेका समेत गरी ३३ जनाविरुद्ध तीन कसूर र एक जनाविरुद्ध मतियार कसूरमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा अभियोग दर्ता गराएको हो।
पक्राउ परेका सोती गाउँका २८ र फरार पाँच जनासहित गरी ३३ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत गरी तीन कसूरमा अभियोग दर्ता भएको हो। त्यस्तै पक्राउ परेका जाजरकोटका एक जनाविरुद्ध मतियार कसुरमा अभियोग दर्ता भएको छ।
पक्राउ परेका र फरार रहेका समेत गरी ३४ जनामध्ये ३३ जनालाई तीन र एक जनालाई तीन वटै कसुरमा मतियार रहेको अभियोग लागेको रुकुम अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले जानकारी दिए। उनका अनुसार ३३ जना विरुद्ध मुलुकी अपराध संहिताको दफा १७७ (२) अनुसार जन्मकैद, दफा ४१ (क) (ग) बमोजिम आजीवन काराबास र जातीय भेदभाव तथा छुवाछुत कसूर र सजाय ऐन २०६८ को दफा ३ (१) र दफा ४, ५ को कसूरमा दफा ७ (१) क बमोजिम कैद सजायको माग गरिएको छ।
प्रतिवादी इन्द्रबहादुर मल्लको हकमा भने अपराधसंहिताको दफा ३६ को कसूरमा दफा ३३ (ख) बमोजिम सजायको माग दावी गरिएको छ । घटना भएको २३ दिनपछि आइतबार जिल्ला सरकारी वकिल कार्यालयले रुकुम जिल्ला अदालतमा अभियोग दर्ता गरेको हो । आइतबार अभियोग दर्ता भएपछि अब सोमबारदेखि बयान शुरु हुने स्रेस्तेदार बोहराले बताए। पक्राउ परेकामध्ये दुई बालबालिका छन् । उनीहरुको बयान सोमबारदेखि शुरु हुने र बाँकीको बयान मंगलबारदेखि शुरु हुने स्रेस्तेदार बोहराको भनाइ छ ।
घटनामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले छुट्टाछुट्टै मितिमा सोती गाउँका २८ र जाजरकोटका एक गरी २९ जनालाई पक्राउ गरेको छ भने पाँच जना अझै फरार छन् । पीडितले दिएको किटानी जाहेरीका आधारमा २० र अनुसन्धानका क्रममा ९ जनालाई प्रहरीले पक्राउ गरेको हो । फरार पाँच जनाको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए। सोती घटनामा ६ जनाको निधन भएको थियो ।
सांसद सुवालको प्रश्न - उत्तर कोरियाले हाइड्रोजन बम बनायो, यहाँ सियो बन्दैन किन ?
नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारलाई सियो बनाएर जनतालाई देखाउने चुनौती दिएका छन् ।
उनले नेपालजस्तै सानो भूभाग र जनसंख्या भएको देश उत्तर कोरियाले हाइड्रोजन बम बनाएर शत्रुलाई तर्साइरहेका बेला नेपालमा भने सियोसमेत बन्न नसकेको भन्दै सरकारमाथि कटाक्ष गरेका हुन् ।
आइतवार प्रतिनिधिसभामा राष्ट्र ऋण उठाउने विधेयक २०७७ का बारेमा छलफलका क्रममा अर्थमन्त्री युवराज खतिवडालाई प्रश्न गर्दै सुवालले सियो बनाएर देखाउन सरकारलाई चुनौती दिएका हुन् ।
'नेपाल जस्तै सानो देश उत्तर कोरियाले हाइड्रोजन बम बनाएर शत्रुलाई तर्साइरहेको छ,' उनले भने, 'यहाँ चाहिँ सियो नबनाउने । हामीले सियो कहिले बन्छ भनेर धेरैपटक सोध्यौं । बिस्तारै बन्छ भन्छन् । यस्तो पनि हुन्छ ?'
उनले अबदेखि विदेशबाट ऋण लिन्नौं भन्ने कुरा विधेयकको दफामा राख्नुपर्ने बताए । 'अबदेखि वैदेशिक ऋण लिन्नौं भन्न सक्नुपर्यो,' उनले भने, 'विदेशमा रहेका नेपाली दूतावासमार्फत अब नेपालले वैदेशिक ऋण लिन्न भन्न लगाउनुपर्यो । नेपाली जनताको थाप्लोमा वैदेशिक ऋण कहिलेसम्म बढाइरहने ?'