०६ साउन २०८३, बुधबार

पशुपति परिसर सरसफाइका लागि भारतद्वारा तीन करोड ७२ लाख सहयोग

असार १, २०७७
पशुपति परिसर सरसफाइका लागि भारतद्वारा तीन करोड ७२ लाख सहयोग
फाइल फोटो।

पशुपति क्षेत्र मन्दिर परिसरमा सरसफाइ सुविधा निर्माणका लागि नेपालस्थित भारतीय दूतावास, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र काठमाडौँ महानगरपालिकाबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार भारत सरकारद्वारा उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी वा पहिले एसडिपीज) को रुपमा यस परियोजनालाई नेपाल–भारतमैत्री : विकास साझेदारीअन्तर्गत अनुदान दिइनेछ । यस परियोजनाको प्रस्ताव पशुपति क्षेत्र विकास कोषले भारतीय राजदूतावासलाई सन् २०१९ को अक्टोबर महिनामा पठाएको थियो ।

पशुपतिनाथ मन्दिरमा पाल्ने तीर्थयात्री तथा पर्यटकका लागि सरसफाइ सुविधा निर्माण गर्न यस परियोजनाअन्तर्गत भारतले  तीन करोड ७२ लाख ३० हजार आर्थिक सहयोग प्रदान गरेको भारतीय राजदूतावासले जनाएको छ । यो परियोजनाको कार्यान्वयन काठमाडौँ महानगरपालिकाले नेपाल सरकारले तोकेको मापदण्डअनुरुप गर्नेछ।

सहमतिअनुसार १५ महिनामा निर्माण सम्पन्न गर्नका लागि महानगरपालिकाले बोलपत्र प्रक्रियामार्फत उपयुक्त ठेकेदारको पहिचान गर्नेछ।

काठमाडौँमा अवस्थित पशुपतिनाथ मन्दिर नेपालको सबैभन्दा ठूलो मन्दिर परिसर हो र वाग्मती नदीको दुवैतिर फैलिएको छ जहाँ हरेक दिन हजारौँको सङ्ख्यामा भक्तजनहरु आउँछन् । सन् २०१४ अगस्ट महिनामा दुवै देशका सरकारले सहमति गरेको सरसफाइ परियोजनाले पशुपतिनाथ मन्दिर परिसरमा सार्वजनिक सुविधाको स्तरोन्नतिका लागि नेपाल सरकारको प्रयासलाई सार्थक बनाउने छ । 

कमेन्ट गर्नुहोस्