
काठमाडौं, ७ पुस- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित आयुक्त लोकमान सिंह कार्कीले सर्वोच्च अदालतमा आफूमाथि भएको आक्रमणलाई षडयन्त्रपूर्ण चालबाजीको एउटा कडीको रुपमा लिएको जनाएका छन् ।
सर्वोच्च अदालतमा तारेख बुझ्न गएका सिंहलाई विप्लव नेतृत्वका माओवादी कार्यकर्ताले कालोमोसो दलेका थिए । सर्वोच्च अदालत घटनाको केही घण्टापछि विज्ञप्ती निकाल्दै मानमर्दन गर्ने नियोजित उद्देश्यबाट भएको घृणित कार्यले आफूलाई स्तब्ध र दुःखी बनाएको बताएका हुन् ।
विज्ञप्तीमा भनिएको छ, 'न्यायालय जस्तो सम्मानित र सुरक्षित मानिने स्थानमा म माथी भएको दुरव्यवहारलाई मेरा विरुद्ध केही महिना यता चल्दै आएको षडयन्त्रपूर्ण चालबाजीको एउटा कडीको रुपमा लिएको छु ।'
कार्कीले यस घटनाबाट आफ्नो जिउधन थप असुरक्षित रहेको र न्यायालय परिसरमा जान समेत सचेत हुन पर्ने ठानेको जनाएका छन् । उनले आफूमाथि केही समय यता पूर्वाग्रहपूर्ण ढंगले व्यवहार हुदै आएको भए पनि न्यायालयबाट न्याय पाउने आशा भने अझै गुमाई नसकेको विज्ञप्तीमा जनाएका छन् ।
कार्कीले विज्ञप्तीमा भनेका छन्, 'यस प्रकारको निन्दनीय घटनाबाट मेरो आत्माविश्वास क्षयीकरण हुने ठानिएको हो भने त्यो कल्पना मात्र हुने अवगत गराउछु । '