०३ असार २०८३, बुधबार

क्वारेन्टीनमै भान्सा, टिभी र इन्टरनेट

क्वारेन्टीनमै भान्सा, टिभी र इन्टरनेट
फाइल तस्वीर

क्वारेन्टीन व्यवस्थापनलाई लिएर प्रश्न उठिरहेका बेला यहाँका केही वडाले भने स्तरीय क्वारेन्टीनको प्रबन्ध गरेका छन् ।

क्वारेन्टीनस्थलमा बस्ने समूहका अलग भान्सा छन् । टिभी, इन्टरनेटलगायत अतिरिक्त सुविधा दिइएको छ । व्यवस्थापनमा स्थानीयवासी खटिएका छन् । गलकोट नगरपालिका–७ मल्मस्थित प्रगति आधारभूत विद्यालयमा निर्मित क्वारेन्टीनको निगरानीका लागि ‘सिसी क्यामेरा’समेत जडान गरिएको छ ।

सो क्वारेन्टीनमा अहिले भारतबाट आएका चार जना छ । सोही वडाको जनहित माध्यमिक विद्यालयको क्वारेन्टीनमा आठ, दीपज्योति आधारभूत विद्यालयमा चार र म्याले सामुदायिक भवनमा एक जना छन् । विदेशसहित बाहिरी ठाउँबाट आएका वडावासीको क्वारेन्टीन बसाइलाई सहज तुल्याउन यथाशक्य प्रयास गरिएको प्रगति आवि क्वारेन्टीन निर्माण तथा व्यवस्थापन समितिका संयोजक थम्मन थापाले बताए।

“खाद्यान्न, विस्तारा र व्यक्तिगत सरसफाइका सामग्री नगरपालिकाले उपलब्ध गराएको छ”, संयोजक थापाले भने, 'बाँकी स्थानीय रुपमा व्यवस्थापन गरेका छौँ ।' व्यवस्थापन समितिले नै भान्साका लागि ग्यास चूल्हो, भाँडाकुँडा आदि उपलब्ध गराएको छ । जनहित माविको क्वारेन्टीनमा रहनुभएका राजु चोखालले इन्टरनेट हेरेर समय बित्ने गरेको बताए।

'हामी तीन जनाको समूह बनाएर बसेका छौँ, भान्सा पनि छुट्टाछुट्टै छ', उनले भने, 'खाना, बसाइमा कुनै कमी र असुविधा छैन ।' बरु, क्वारेन्टीनको बसाइ लम्बिएकामा उनको गुनासो छ । उनी क्वारेन्टीन बसेको २१ दिन भयो । आठ दिनअघि कोरोना जाँचका लागि स्वाब लिइए पनि अझै रिपोर्ट आएको छैन । प्रगति आविको क्वारेन्टीनमा बस्नेले पनि टिभी र इन्टरनेट हेरेर दिन काट्छन् ।

समय बिताउने माध्यम भएपछि एक्लोपनाको महसुस गर्न पाएका छैनन् । सुविधायुक्त क्वारेन्टीनस्थलले केही सन्तोष दिएको छ । व्यवस्थापन समितिले क्वारेन्टीनस्थलको सुरक्षा निगरानी र रेखदेख गर्दै आएको छ । क्वारेन्टीनको अनुशासनलाई कडापूर्वक पालना गराउन नियमित अनुगमनसमेत हुने गरेको छ । नगरपालिकाका पदाधिकारीसमेतले बेलाबेला निरीक्षण गर्छन् । सो क्रममा नगरकै उत्कृष्टमध्येमा ७ नं वडाका क्वारेन्टीन ठहरिएको वडाध्यक्ष टीकाबहादुर थापाले बताए।

क्वारेन्टीनमा बस्नेको सङ्ख्या कम भएकाले पनि स्तरीयता कायम गर्न सहज बनेको उनको भनाइ छ । क्वारेन्टीनस्थलको चुस्त व्यवस्थापनमा स्थानीयवासीकोसमेत उत्तिकै सहयोग छ । कसैले खाट त कसैले टिभी दिएका थिए ।

नगरपालिकाबाट आउने रकमबाहेकको खर्च वडा र व्यवस्थापन समितिले ब्यहोर्ने भएका छन् । उक्त वडाबाट रोजगारीका लागि भारत जानेको सङ्ख्या करिब ५० मात्रै छ । कोरोना कहर लम्बिँदै गएमा तेस्रो मुलुकबाट आउनेको सङ्ख्या बढ्ने देखिन्छ । सो अवस्थामा क्वारेन्टीनको क्षमता अझै बढाउनुपर्ने अवस्था छ । भारतबाट आउने क्रम शुरु भएपछि नगरपालिकाले गत महिना सबै वडामा कम्तीमा दश शय्याको क्वारेन्टीन बनाउन निर्देशन दिएको थियो ।

तत्कालै वडा नं ३ ले पनि १५ श्ययाको क्वारेन्टीन निर्माण गरेको थियो । गलकोट उद्योग वाणिज्य सङ्घ र गलकोट बहुमुखी क्याम्पसले क्वारेन्टीन निर्माणमा सघाएको वडा वडाध्यक्ष वीरजङ्ग भण्डारीले बताउनुभयो । क्याम्पसको कोठालाई क्वारेन्टीनस्थलका रुपमा प्रयोग गरिएको छ । “क्वारेन्टीन व्यवस्थित छ, व्यक्तिगत प्रयोगका सामग्रीदेखि स्यानेटाइजरसम्म उपलब्ध गराएका छौँ”, अध्यक्ष भण्डारीले भने।

शौचालय पनि छुट्टाछुट्टै प्रबन्ध गरिएको छ । नगरपालिकाले कोरोना आशङ्कित व्यक्तिलाई २१ दिनसम्म क्वारेन्टीनमा राख्दै आएको छ । क्वारेन्टीनमा रहेका बेला स्वास्थ्यकर्मीले नियमित स्वास्थ्य जाँच गर्ने गरेका छन् । क्वारेन्टीनको बसाइ पूरा गरेपछि र आवश्यकता परेको खण्डमा कोरोना जाँच गरेर मात्र घर पठाइने नगरपालिकाले जनाएको छ । जिल्लाका कतिपय स्थानीय तहलाई भने क्वारेन्टीन विस्तार र गुणस्तर कायम गर्नु चुनौतीपूर्ण बनेको छ ।

बाहिरबाट आउनेको ठूलो सङ्ख्या र छिटो कोरोना जाँच नहुँदा लामो समयसम्म क्वारेन्टीनमा राख्दा खर्चको भार पनि थपिँदै गएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका विभिन्न ठाउँमा रहेका क्वारेन्टीनमा अहिले एक हजार ७३६ जना छन् । तीमध्ये झण्डै ८०० जनाको कोरोना जाँचका लागि स्वाब लिइए पनि रिपोर्ट भने आउन बाँकी छ । जिल्लामा हालसम्म ४१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । आठ जना निको भएका छन् । रामबहादुर थापा,रासस

salt training

कमेन्ट गर्नुहोस्