
कर्णाली प्रदेश सभामा ‘कर्णालीकी मन्त्री केसीको बजेट सक्ने काइदा : कानून बाहिर गएर धमाधम कार्यविधि निर्माण !’ शीर्षकमा बुधबार समाचार प्रकाशन भएसँगै बिहीवार सरकार माथि प्रश्न उठेको छ ।
‘सरकारले आफ्नो अनुकुलतामा ऐन कानून भन्दा बाहिर गएर कार्यविधि बनाउँदै खर्च गरिरहेको छ । कार्य विधिबाट राहत वितरण जस्ता कामहरु गर्न पाइन्छ कि पाइदैन ? विद्यमान कानून ऐनको पालना गर्न आवश्यक छ कि छैन ?’ प्रदेश सभा सदस्य दीनबन्धु श्रेष्ठले भने, ‘ऐन भन्दा बाहिर गई कार्यविधि निर्माण गरेर अर्बौ रुपैंया खर्च गर्नु वित्तीय अनुशासन भित्र पर्छन कि पर्दैन ? यसबाट भोली आउने परिणाम के हुन्छ ? हामीले जे कार्यविधि बनाएर पनि अघि बढन सक्छौं भन्ने कुरा त्याग्न जरुरी छ । ऐन नियम कानूनको पालना गरेर सरकार अघि बढोस् । हामी सहयोग गर्न तयार छौं । प्रतिपक्षको कमजोरी नठानियोस् ।’
उनले सरकारले सदनमा पेश गरेको आर्थिक वर्ष २०७७÷०७८ को बजेटमाथिको छलफलमा भाग लिदैं सो कुरा बताएका हुन । ‘वितरणमुखी कार्यक्रममा बजेट केन्द्रित छ । बजेट बढि भन्दा बढि आत्मनिर्भर बनाउने खालको ल्याउन जरुरी छ । कोभिड १९ को शीर्षकमा चार अर्ब जति आएको छ । कोभिड १९ को महामारीले स्वास्थ्य क्षेत्रको कायापलट गर्नका लागि अवसर दिएको छ । भौतिक संरचना, स्वास्थ्य परिक्षण, जनशक्तिलगायतका क्षेत्रमा धेरै भन्दा धेरै खर्च गरियोस् ।’
नेकपाकी सचेतक सीता नेपालीले विगतका बजेट कार्यान्वयनको अवस्था हेर्दा दयनीय रहेको बताइन । ‘कार्यान्वयन हुने बजेट ल्याउन जरुरी छ । बजेटमा विगतका निरन्तरता कायमै छन् । महामारी, भोकमरी र बेरोजगारीको कुरा गरिरहेका छौं । कसरी यी समस्याबाट पछि परेका वर्गको समस्या कहिले समस्या होलान् । बजेट आएको छ, किताब छ तर बजेटको व्यवस्था भएको छैन ।’ उनले भनिन्, ‘बजेटमा उचित सहयोग गर्ने, प्रोत्साहन गर्ने कुराहरुमा आवश्यक रकम व्यवस्था गरेको छु भन्ने उल्लेख छ । किन बजेट तोकिएन ?’
उनले २०७१ सालका बाढी पीडितको समस्या समाधानका लागि थोरै बजेट भएको र त्यसले समस्या समाधान गर्न नसक्ने बताइन । विषय अनुसारका बजेट केन्द्रीत गर्न सरकारलाई उनले अनुरोध गरिन ।
कर्णाली प्रदेशसभामा पेश भएको आर्थिक वर्ष २०७७/०७८ बजेटमाथि छलफल गर्दै प्रदेशसभा सदस्यहरुले प्रदेश सरकारले विकास र कामको गति बढाउनुपर्नेमा जोड दिएका छन् । प्रदेशसभाको बैठकमा आफ्ना धारणा राख्दै प्रदेशसभा सदस्य गुलाबजंग शाहले कर्णाली प्रदेश सरकारले आर्थिक आर्थिक वर्ष २०७७/०७८ बजेट परम्परागत रुपमा आएको बताए । ‘यो बजेट परम्परागत रुपमा आएको छ ।’ उनले भने,‘यो बजेटमा के नयाँ कुरा आएको छ र ?’
त्यस्तै, प्रदेशसभा सदस्य अमृता शाहीले प्रदेश सरकारले कछुवाका गतिमा काम गरेको कुनै पनि कार्यक्रम किताबमा आएजस्तो प्रभावकारी हुन नसकेको बताइन् । ‘बजेट ल्याउँदैमा केही भएको छैन्,’ उनले भनिन्,‘काम गर्दा कछुवाका गतिमा हुने गरेको छ ।’
योजनामा मात्र ल्याएर केही नहुने त्यसको कार्यान्वयनमा प्रभावकारी हुनुपर्ने प्रदेशसभा सदस्य बदमिक्वारी बोहोराले बताइन् ।
प्रदेशसभा सदस्य झोवा बिकले बजेटमा राम्रो आएको तर, रातो किताबमा आउनेछ हो कि नाई भनेर प्रश्न गरिन् ।