११ असार २०८३, बिहीबार

प्रहरीको ‘सेटिङ’मा चलिरहेका भीआईपी गाडी सशस्त्रको कब्जामा, अनुसन्धान हुँदै

असार ५, २०७७
प्रहरीको ‘सेटिङ’मा चलिरहेका भीआईपी गाडी सशस्त्रको कब्जामा, अनुसन्धान हुँदै

गृह मन्त्रालयको पास बनाई जाजरकोट आएर फर्किएका दुई गाडीलाई सशस्त्र प्रहरी सुर्खेतले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई अनुसन्धानका लागि बुझाएको छ ।

बा १८ च ७६२१ नम्बरको हाइलेक्स र बा १५ च ३५०५ नम्बरको स्कारपियो गाडी सशस्त्र प्रहरी सुर्खेतको टोलीले नियन्त्रणमा लिएको थियो । भेरीगंगा नगरपालिकाको छिन्चु बजारबाट बिहीवार राति सशस्त्र प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिएको थियो ।

छिन्चुस्थिल मनकामना होटलबाट नियन्त्रणमा लिएका एक हाइलेक्स र एक स्कारपियो गाडीले गृह मन्त्रालयबाट ट्राभल्स एण्ड टुर्सको नाममा पास बनाएको स्रोतले जानकारी दिएको छ ।

बहुमुल्य पत्थर काइनाइट र टुर्मालिन पत्थर चोरी, निकासी हुँदै गरेको विशेष सूचनाका आधारमा दुई वटा भिआइपी गाडी सशस्त्र प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिइएको प्रहरी श्रोतको जनाएको छ ।

सरकारले २०७२ सालदेखि तेस्रो मुलुक निकासी बन्द गरेको जाजरकोटको बहुमुल्य पत्थर काइनाइट र टुर्मालिन पत्थर निकासीका लागि दुई वटा गाडी प्रयोग भएको आशंकामा पक्राउ गरिएको जनाइएको छ । 

जाजरकोटमा पाइने बहुमुल्य पत्थरको बजारमुल्य ५ सयदेखि २५ हजार प्रतिकिलो पर्ने गर्दछ । सरकारले उत्खनन स्वीकृति दिएपनि देशभित्र प्रशोधन उद्योग नहुँदा चोरी निकासी तेस्रो मुलुक भारत, चीन, अमेरिका पुर्‍याउने गरिएको छ ।

सुर्खेत प्रहरीका धेरै स्थानमा चेकपोस्ट भएतापनि प्रहरीले नसमात्नु शंकास्पद देखिएको छ ।

सशस्त्र प्रहरी सुर्खेतको गस्ती टोलीले पक्राउ गरी शुक्रवार बिहान जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई बुझाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक (डिएसपी) रामप्रसाद घर्तीले घटनाको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।

गाडीसँगै नियन्त्रणमा लिएका व्यक्तिहरुलाई सोधपुछ, प्रारम्भिक बयान लिने काम भइरहेको उनले जानकारी दिए । ‘हामी अनुसन्धानकै क्रममा भएकाले थप विवरण आउन बाँकी छ । अनुसन्धान गरेपछि सबै जानकारी गराउँ,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्