काठमाडौँ, १६ वैशाख - नेकपा माओवादी केन्द्रले स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि तीन महानगरबाहेक अधिकांश ठाउँमा उम्मेदवारको टुङ्गो लगाइसकेको छ । माओवादीले काठमाडाँैमा काठमाडौँ महानगरबाहेकका सबै स्थानमा उम्मेदवारी टुङ्गो लगाएको छ । ललितपुरमा महानगर र गोदावरी नगरपालिकाबाहेक सबैमा टुङ्गो लागेको छ ।

रामेछाप, चितवन, मकवानपुर, कपिलवस्तु, दोलखालगायत जिल्लामा उम्मेदवारको टुङ्गो लागेको छ । भक्तपुरमा शनिबार सबै क्षेत्रको उम्मेदवार घोषणा गरिने बताइएको छ । बाँकीमा जिल्लाका केही स्थानमा टुङ्गिएको छ भने बाँकी ठाउँमा केही दिनभित्रै टुङ्गिने गोरखापत्रमा खबर छ ।
‘प्रतिस्पर्धी पार्टीहरूको उम्मेदवार हेरेर पनि बाँकी रहेका ठाउँमा उम्मेदवार निर्धारण गर्नुपर्ने हुन्छ,’ माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले भनिन् । उम्मेदवारी दिने दिनसम्म सबैको टुङ्गो लाग्छ, उनले बताइन् । भुसालका अनुसार ललितपुरमा ललितपुर महानगरबाहेक सबै नगरपालिका र गाउँपालिकाको उम्मेदवार टुङ्गो लागिसकेको छ । त्यस्तै काठमाडौँमा पनि महानगरपालिका बाहेकका अन्य नगरपालिकाहरूमा उम्मेदवारी टुङ्ग्याइएको छ ।
१५ जिल्लामा काँग्रेसको टुङ्गो
नेपाली काँग्रेस पहिलो चरणको स्थानीय तहको चुनावका लागि शुक्रबारसम्म १५ जिल्लाका उम्मेदारको टुङ्गो लागेको बताएको छ । शनिबारसम्म २८ भन्दा बढी जिल्लाका उम्मेदवारको नामावली केन्द्रीय कार्यालयमा आइपुग्ने पार्टी कार्यालयका मुख्य सचिव कृृष्णप्रसाद पौडेलले बताए ।
पार्टी स्रोतका अनुसार महानगरपालिकाको उम्मेदवार टुङ्गो लगाउन कठिन भएको छ ।