वैवाहिक अंगीकृत नागरिकतामा ७ वर्षको समयसीमा राख्ने प्रावधानसहित प्रतिनिधि सभाको समितिबाट पारित भएको नागरिकता विधेयकलाई लिएर मण्डले राष्ट्रवाद भनिएकोमा नेकपाका नेताले आपत्ति जनाएका छन् ।
मंगलवार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा नेकपा सांसद डा. वेदुराम भुसालले नेपालले संविधानअनुसार कानून बनाउँदा धम्कीको भाषा नबोल्न चेतावनी दिएका हुन् ।
‘प्रतिनिधि सभाको समितिबाट पारित नागरिकता विधेयकको विषयलाई लिएर यो सभामा कुरा उठेका छन्, कतिपय अभिव्यक्ति आपत्तिजनक छन् । नेकपाप्रति इंगित गर्दै असंवैधानिक काम गरेको, परराष्ट्र सम्बन्धको जग भत्काउन खोजेको, भारतसँगको सम्बन्धमा कटअफ गरेको, चीनको झोलामा नेपाललाई लैजान लागेको भनिएको छ । मण्डले राष्ट्रवाद भन्दै राजनीतिक दुर्घटना हुने गरेर धम्कीको भाषा प्रयोग गरिएको छ,’ सांसद भुसालले भने, ‘मलाई लाग्छ, यो निराधार र गैर राजनीतिक तर्क र धम्कीपूर्ण भाषा प्रयोग गरिएको छ, चीनको झोलामा हाल्नेजस्ता अराजनीतिक भाषा बोलिएकोमा मेरो आपत्ति छ ।’
यसअघि राष्ट्रिय सभा बैठकमा नेपाली कांग्रेसका नेता जीतेन्द्र देव लगायतले प्रस्तावित व्यवस्थाले मधेशको संस्कृतिमा आक्रमण गरेको बताएका थिए ।
‘नेपालले संविधान अनुसारको यो कानून बनाउँदा आपत्ति किन ? असंलग्न परराष्ट्र नीति लिएको नेपालको परराष्ट्र सम्बन्धको जग कसरी भत्किन्छ ?’ भुसालले भने, ‘नेपालले स्वतन्त्र निर्णय गर्दा भारतसँग सम्बन्ध बिग्रन्छ भनेर भन्नुलाई नेपाललाई सधैँभरी भारतको चंगुल र अधीनस्त बनाउने षडयन्त्रबाहेक के भन्ने ?’