
लद्दाखमा भएको हिंस्रक भिडन्तपछि चिनियाँ र भारतीयहरूबीच वाग्युद्ध चलिरहेको छ ।
यस विषयमा चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडीजका एसोसिएट रिसर्च फेलो लान जियानसुएले टिप्पणी गरेका छन् ।
ग्लोबल टाइम्ससँग उनले भने, ‘भारत अहिले भारतीय संस्करणको भूभाग परिवर्तन नीति अपनाइरहेको छ । नयाँ दिल्लीले पोहोर साल कश्मीरको अर्धस्वायत्त हैसियत खोस्नु नै भारत र पाकिस्तानबीच भएका पछिल्ला गोली हानाहानको कारण हो ।’
नयाँ दिल्लीले छिमेकी नेपालसँग सीमाविवाद गरिरहेको छ र चीनसँगको तनाव चर्काउँदा २० जना भारतीय सैनिकको मृत्यु भएको छ, ग्लोबल टाइम्स लेख्छ ।
लानका अनुसार, भारतले नरेन्द्र मोदीको नेतृत्वमा हिन्दू राष्ट्रवाद अपनाएको छ र आक्रामक, र्‍याडिकल र कठोर नीति अपनाएको छ ।
‘
भारतीय सरकारले प्रवर्द्धन गरेको विस्तारवादी नीति र बढाइचढाइ गरिएको राष्ट्रवादका कारण चीन, पाकिस्तान र नेपालसँग विवाद परेको छ,’ लानले बताए ।
‘मोदी सरकारले देशमा कोरोनाभाइरस महाव्याधिको पर्याप्त नियन्त्रण गर्न नसकेको, रोजगारी र उत्पादन सुचारु गर्न नसकेको अनि अर्थतन्त्र सुस्त बनेको लगायतका समस्याबाट ध्यान हटाउन छिमेकी मुलुकहरूसँग सीमाविवाद निम्त्याइरहेको हो,’ लानले भने ।