
ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा १० वटा वडालाई कृषि पकेट क्षेत्रका रुपमा घोषणा गर्ने भएको छ।
महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले बुधबार आर्थिक वर्ष ०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वडा नं १८, २१, २२, २३, २४, २५, २६, २७, २८ र २९ मा उक्त पकेट क्षेत्र घोषणा गर्ने जानकारी गराए।
महानगरपालिकाले हाल मुलुकमा दैनिक बढिरहेको कोभिड–१९ का कारण हुनसक्ने खाद्यान्न अभावलाई ध्यानमा राखी यसअघि मल तथा तरकारीको बीउबिजन वडावासीलाई अनुदानमा वितरण गरिसकेको र यी वडा महानगरका अन्य वडाभन्दा खुला र खेतीयोग्य ठाउँ रहेका बताइएको छ।
महानगरपालिकाले घर भएका तर जग्गा जमिन नभएका वडावासीलाई कौशीखेती तथा एभोकाडो, ङ्रयागन फुड र किबीलगायतका फलफूल खेती गर्न प्रोत्साहित गर्नुका साथै महानगरपालिकाभित्र फलफूल तथा तरकारीको बजारीकरणमा प्रवद्र्धन गर्नका लागि चिस्यान केन्द्र स्थापना गर्ने नीति पनि प्रस्तुत गरको छ।
महानगरभित्रका घरेलु तथा साना उद्योगलाई समेत प्राथमिकतामा राखेर त्यसैअनुसारको कार्यक्रम ल्याउने, कोभिड विशेष नीतिअन्तर्गत आवश्यकताअनुसारको होल्डिङ सेन्टर निर्माण, कोभिड असर न्यूनीकरणका लागि मनोसामाजिक परामर्श, मेलमिलाप सचेतना कार्यक्रम सञ्चालन र कोभिड केन्द्र अस्पतालका रुपमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गर्ने प्रमुख महर्जनले बताए। महानगरपालिकाले चार अर्ब ७९ करोड १५ लाख ६२ हजार ५१५ को बजेट प्रस्तुत गरेको छ ।