
भारतको बिहारमा बिहीबार राति परेको चट्याङ लागेर ९२ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । गए रातिको सो चट्याङका कारण गएको २४ घन्टा यता मात्र कम्तीमा पनि ९२ जनाको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् ।
हिजो मात्र यसबाट ८३ जनाको ज्यान गएको बताइएको थियो । शुक्रबार बिहानसम्म यो संख्या ९२ पुगेको बिहारको विपद व्यवस्थापन केन्द्रले जानकारी दिएको हो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार बिहार राज्यका २१ जिल्लामा बिहीबार साँझदेखि रातिसम्म चट्याङ परेको थियो ।
सबैभन्दा धेरै बिहारको नेपालगञ्ज जिल्लामा १३ जनाको मृत्यु भएको छ । यस्तै नवादा र पश्चिमी चम्पारण जिल्लामा आठ, आठ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् बिहीवार बिहारलगायत भारतका उत्तरी राज्यहरुमा ७२ घण्टाका लागि मौसमी चेतावनी जारी गरिएको थियो । भीषण वर्षा र हावाहुरी चल्ने सूचना यहाँको मौसम विभागले जारी गरेको थियो ।
मौसम खराब रहेकोले बाहिर ननिस्कन र सम्भावित चट्याङबाट बच्ने उपायहरु अपनाउन पनि राज्यका सबै सर्वसाधारण नागरिकहरूमा सूचना जारी गरिएको बताइएको थियो । बिहारमा समय समयमा पर्ने गरेको चट्याङबाट ठूलो संख्याका नागरिकको ज्यान जाने गरेको पाइएको छ ।
बिहारका मुख्यमन्त्री नितिश कुमारले चट्याङ लागेर ज्यान गएका व्यक्तिका परिवारका सदस्यलाई प्रति परिवार ४ लाख भारतीय रुपैयाँका दरले क्षतिपूर्ति दिने घोषणा पनि गरेका छन् ।