
पोखराबाट एकैपटक १७ जना कोरोना संक्रमित निको भई घर फर्केका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत् ३३ जना संक्रमितमध्ये कास्की, पर्वत, स्याङ्जा र गोरखाका गरी १७ जना डिस्चार्ज भएका हुन् ।
तीमध्ये ५ जना महिला छन् । अस्पतालका निर्देशक सहप्राडा अर्जुन आचार्यले शुक्रबार साँझ विज्ञप्ति जारी गरी सोबारे जानकारी दिएका हुन् । जसअनुसार कास्कीका १४ जना, पर्वत, स्याङ्जा र गोरखाका १–१ जना छन् । डिस्चार्ज हुनेमा पोखरा २७ का ५९ वर्षे, रुपा ७ का ४५ वर्षे, पोखरा ९ का ४३ वर्षे, पोखरा ३२ का १९ वर्षे, पोखरा ३२ कै १९ वर्षे, मादी ४ का १९ वर्षे, पोखरा ३३ का ४३ वर्षे, पोखरा २५ का २२ वर्षे, पोखरा ३२ का २२ वर्षे मादी ४ का ४१ वर्षे पुरुष छन् ।
यस्तै, पोखरा–१३ की २७ वर्षीया, पोखरा–३२ की ५२ वर्षीया, पोखरा–१४ की ४० वर्षीया र मादी–४ की ४० वर्षीया महिला पनि डिस्चार्ज भएका छन् । यस्तै, स्याङ्जा वालिङ–९ की ५४ वर्षीया महिला, पर्वत कुष्मा–३ का ३५ वर्षे र गोरखाका ३७ वर्षीय पुरुष पनि निको भएका छन् ।
उनीहरु सबैजनाको कोभिड–१९ को रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिएको छ । उनीहरुमध्ये पोखरा–२७ का ५९ वर्षे पुरुष जेठ २४ र कुष्मा–३ का ३५ वर्षे पुरुष जेठ ३० गते भर्ना भएकोमा अरु सबैजना असार लागेपछिमात्र अस्पतालमा ल्याइएको थियो ।
पछिल्लो मिति असार १० मा मादी–४ का ४१ वर्षे पुरुष र ४० वर्षीया महिला भर्ना भएका थिए । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अझै १६ जना कोरोना संक्रमितको आइसोलेन कक्षमा राखी उपचार भइरहेको छ । यसअघि, गोरखा जिल्लाका ९ जना कोरोना संक्रमित शुक्रबार बिहान डिस्चार्ज भएका थिए ।
तीमध्ये १ महिला छन् । गोरखाको गण्डकी गाउँपालिकाका वर्ष २०, २१, २५, २६ र ३० का पुरुष, गोरखा नगरपालिकाका वर्ष २९, ३२ र ३५ का पुरुष तथा सोही ठाउँकी ३१ वर्षीया महिला पनि डिस्चार्ज भएका हुन् । यसअघि असार ५ मा कास्कीका ३, स्याङ्जा र पर्वतका १–१ गरी ५ जना पुरुष पनि डिस्चार्ज भएका थिए । गण्डकीमा कुल ७ सय ९२ संक्रमितमध्ये हालसम्म १ सय १ जना निको भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।
प्रदेशमा ९ हजार ४ सय ५८ को नमुना संकलन भएकोमा नतिजा आउन बाँकी ७ सय ८ जनाको छ । प्रदेशमा हालसम्म स्याङ्जाका २ जना पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । प्रदेशमा शुक्रबार २५ जना नयाँ संक्रमित फेला परेका थिए ।
