
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा नेकपा स्थायी कमिटीको बैठक चलिरहेको छ । त्यसमा जनस्वास्थ्यमाथि खेलबाड भइरहेको छ भन्ने कुरा पत्याउनुहुन्छ ?
झट्ट सुन्दा पत्याउन गाह्रो पर्छ तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालुवाटारभित्र जनस्वास्थ्यमाथि खेलबाड हुने खालका गतिविधि भएको संकेत गर्दै चिन्ता व्यक्त गरेको छ ।
शुक्रवार नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल लगायत सबैजसो स्थायी कमिटी सदस्यको गलामा नीलो डोरी सहितको एउटा कार्ड झुण्ड्याइएको थियो । कोरोना भाइरसबाट सुरक्षित हुन भनेर पार्टीले स्थायी कमिटी सदस्यका लागि खरिद गरेर दिएको कार्डमा लेखिएको थियो, भाइरस रिमुभिङ कार्ड ।
सत्तारुढ नेकपा स्थायी कमिटी बैठकमा प्रयोग भएको यस्तो कार्ड प्रयोग गरेर भ्रम फैलाउनुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यमाथि खेलबाड भनेको छ । कोरोना संक्रमणको अद्यावधिक विवरण सार्वजनिक गर्दै मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कार्डले कोरोना नलाग्ने भ्रम फैलाउनेलाई कारवाहीको दायरामा ल्याउन अनुरोध समेत गरेका छन् ।
यस्तो छ प्रवक्ता गौतमले मिडिया ब्रिफिङमा वाचन गरेको अनुरोध –
कोभिड १९ महामारीका सन्दर्भमा विभिन्न भ्रमहरू फैलाउने क्रम देखिँदै आएको छ । यो रोग विश्वव्यापी रुपमै नयाँ रोग हो । यसको रोकथाम र नियन्त्रणका उपायहरूका बारेमा धेरै वैज्ञानिकहरू र चिकित्सकहरू रातदिन अध्ययन अनुसन्धान गरिरहेका छन् । ती खोजबाट कुनै पनि नयाँ कुराहरू पत्ता लाग्ने बित्तिकै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जानकारी हुने खालका विज्ञहरूको संयन्त्र हामीसँग छ ।
त्यसै अनुसार हामीले सर्वसाधारणलाई जानकारी गराउने र हामीले गरिरहेका प्रतिकार्यका कार्यहरूमा सुधार गर्दै लगिरहेका छौं तर पनि बेलाबेलामा विभिन्न व्यक्ति वा समूहहरूको निहीत स्वार्थका कारण विभिन्न भ्रम सिर्जना गर्ने/गराउने र त्यसैलाई फैलाइने क्रम यथावत् नै छ ।
यस किसिमका भ्रमहरू सुन्ने बित्तिकै मन्त्रालयलाई समयमै जानकारी गराउन सम्पूर्ण सचेत नेपालीहरूलाई मन्त्रालय धन्यवाद ज्ञापन गर्दछ र यस किसिमका सुझाव प्रतिकार्यहरूको सधै अपेक्षा गर्दछ ।
हालै मात्र भाइरस रिमुभिङ कार्ड पत्ता लागेको र यो घाँटीमा झुण्ड्याएमा कोभिड रोग लाग्दैन भन्ने भ्रम सिर्जना भएको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । यस किसिमको कुनै पनि कार्ड हालसम्म पत्ता लागेको छैन । यस किसिमको विधि र प्रक्रिया नै शुरू नभएको व्यहोरा समेत सबैमा अनुरोध छ । यस्तो विधि भएको भए आज संसारभर यतिधेरै कठिनाइ हुँदैन्थ्यो होला । यस किसिमका विधिहरूको खाँचो सबैलाई छ तर प्रभावकारी पाइएका छैनन् । यस्ता विधिहरू प्रभावकारी पाइएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दर्ता भई प्रक्रिया अनुसार नै सरकारले आफैं उपलब्ध गराउने गरी अगाडि बढ्ने छ ।
हामीले बुझ्नुपर्ने कुरा के हो भने समस्या भएका बेलामा समाजमा भएका विभिन्न व्यक्तिहरूले आफ्ना लागि अवसर खोज्ने गर्दछन् तर हामीले बिर्सनै नहुने कुरा के हो भने समस्याको जोखिम ल्याउँदा यहीँ समाजमा भएका हामी कसैलाई छोड्दैन ।
भाइरस रिमुभिङ कार्डका नामले कसैले कार्ड बनाउने वा विदेशबाट ल्याउने तथा व्यापार गर्ने प्रयोजनका लागि बजारमा उपलब्ध गराउने र समाजका प्रतिष्ठित व्यक्तिहरूका गलामा विभिन्न तरिकाले झुण्ड्याउने र प्रचारबाजी गर्ने गरेको देखिएकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ज्यादै चिन्तित छ ।
त्यस किसिमका कुनै पनि कार्डलाई नेपाल सरकारले स्वीकृत दिएको छैन । त्यस किसिमका कार्डमा प्रयोग भएका भनिएका रसायनहरूले मुटु, फोक्सो, कलेजो लगायतका अंगहरूमा असर गरी स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न गर्दछ । त्यसैले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय यस्ता भ्रममा परी भाइरस रिमुभिङ कार्डको प्रयोग नगर्नु/नगराउन हुन सबैमा अनुरोध गर्दछ । विश्वव्यापी महामारीको यो बेला सबै एकजुट भई जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न समेत आम नागरिकमा हार्दिक अपिल गर्दछ । जनताको भावनालाई बहकाएर व्यक्तिगत स्वार्थको लागि जनस्वास्थ्यमाथि खेलवाड गर्ने नियम विपरीत भएका यस किसिमका गतिविधिहरूलाई कानूनी दायरामा ल्याई कारवाही प्रक्रिया अगाडि बढाउन समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हार्दिक अनुरोध गर्दछ ।
पढ्नुस् यो पनि