
प्रधानमन्त्री केपी शर्मा ओलीले अतिक्रमित भूमि समेटेर नयाँ नक्सा प्रकाशित गरिसकेको बिन्दुबाट सरकार कुनैपनि हालतमा पछि नहट्ने बताएका छन् ।
मदन भण्डारीको जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा ओलीले नेपाललाई आफ्नो भूमि चाहिएको र त्यो नलिई नछाड्ने स्पष्ट पारे ।
‘भूलचुकबाट छापिएको होइन, नक्सा छाप्ने र संविधान संशोधन गर्ने कुरा पोइन्ट अफ नो रिटर्न भयो भनेर भनेका छन, हामीलाई हाम्रो भूमि चाहियो, नलिई छाडिँदैन । यो पोइन्ट अफ नो रिटर्न नै हो,’ ओलीले भने ।
ओलीले १ सय ४६ वर्षसम्म प्रयोग गरेको जमिन नेपालले खोजेको बताए । ओलीले नयाँ नक्सा जारी गरेर संविधान संशोधन गरेपछि आफूलाई हटाउने खेल भएको टिप्पणी गरे ।
‘नेपालको यति राष्ट्रियता त्यति कमजोर छैन, नक्सा छापेबापत प्रधानमन्त्रीलाई कसैले हटाउँछु भन्छ भने, त्यो नसोचे हुन्छ । कोशिश गर्न सक्छन् । कसैले हतार नगरे पनि हुन्छ । विभिन्न आग्रह नपाले पनि हुन्छ,’ ओलीले भने, ‘मलाई प्रधानमन्त्रीमा बसिराख्ने इच्छा होइन, यतिबेला म हट्ने हो भने नेपालको पक्षमा कसैले बोल्दैन । बोले भोलिपल्टै बर्खास्त हुन्छ ।’
ओलीले अहिलेको संसद्को दुईतिहाइ हिस्सा मदन भण्डारीको विचारबाट निर्देशित रहेको भन्दै नेकपा संसदीय दल यसबारे अञ्जान नभएको जिकिर गरे ।