
गण्डकी प्रदेशमा गएको २४ घण्टामा ५३ जना कोरोना संक्रमित थपिएका छन्। योसहित प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय ४९ पुगेको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार साँझ विज्ञप्ति जारी गरी तनहुँ, बागलुङ, पर्वत, गोरखा र स्याङजामा गरी ४९ नयाँ संक्रमित फेला परेको पुष्टि गरेको हो। तीमध्ये ९ जना महिला छन्।
सबैभन्दा बढी संक्रमित बागलुङका १४ जनामा देखिएको छ। जसमा बागलुङ नगरपालिकाका ४ पुरुष, गलकोटका ९ जना पुरुष र १ महिला छन्।
पर्वतमा १३ जना पुरुष संक्रमित थपिएका छन् । सदरमुकाम कुश्माका ३, फलेबासका २, पैयुँका २, बिहादीका २, जलजलाका १, महाशिलाका २, मोदीका १ जना पुरुष छन्।
१० संक्रमित थपिएको तनहुँको घिरिङ १ महिला, बन्दिपुरका ५ महिला, ४ पुरुष छन्।
स्याङ्जा वालिङ नगरपालिकाका ७ पुरुष र १ महिला गरी ८ जना, गोरखाको भीमसेनका ५, सिरानचोकका १ जना पुरुष गरी ६ जना नयाँ संक्रमित थपिएका छन्।
उनीहरु सबै जनाको नमुना परीक्षण काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको हो।
यस्तै, प्रदेश क्षयरोग केन्द्र, पोखरामा भएको परीक्षणमा स्याङ्जा चापाकोट नगरपालिकाका १ महिला र १ पुरुषमा कोरोना भाइरसबाट संक्रमित भएको पत्ता लागेको छ।
गण्डकी प्रदेशकै नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का १६ जना कोरोना संक्रमित निको भइ सोमबार घर फर्केका छन् । आइतबारको विवरण अनुसार स्याङ्जा, म्याग्दी, तनहुँ, पर्वत र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका सम्बन्धित आइसोलेसन कक्षमा उपचार गराइरहेका ७५ जना कोरोना संक्रमित निको भइ घर फर्केका थिए । प्रदेशमा डिस्चार्ज हुनेको संख्या कुल २ सय १४ पुगेको स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माले जनाए ।
गण्डकी ११ जिल्लामध्ये सबैभन्दा बढी संक्रमित नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका छन् ।