
नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन षड्यन्त्र भइरहेको दोहोर्याएका छन् ।
मंगलवार स्थायी कमिटी बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतले प्रधानमन्त्रीबाट दूतावास सक्रिय रहेको भन्ने अभिव्यक्ति सम्बन्धमा जवाफ मागेपछि ओलीले षड्यन्त्र भइरहेको बताएका हुन् ।
‘हाम्रो बैठकमा भएका कुरा दिल्लीका मिडियाबाट हुबहु कसरी आउँछन् ?’ ओलीले बैठकमा नेताहरूसँग प्रतिपश्न गरे । आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा ओलीले आफूलाई हटाउन दूतावास सक्रिय रहेको तथा होटलहरूमा गतिविधि भइरहेको बताएका थिए ।
ओलीको सो अभिव्यक्ति सम्बन्धमा नेताहरूले मंगलवारको बैठकको शुरूमै स्पष्टीकरण माग गरेका थिए । प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमले बोलेपछि ओलीले संक्षिप्त जवाफ फर्काएका थिए ।
ओलीले आफ्नो भनाइको बचाउ गर्दै सरकार ढाल्ने षड्यन्त्र तीब्र भइरहेको बताएका थिए । बैठकमा प्रचण्डले प्रधानमन्त्रीबाट आएको यस्तो अभिव्यक्तिले परराष्ट्र सम्बन्ध खल्बलिने बताएका थिए ।
‘राजीनामा भारतले होइन मैले मागेको हो, वैशाख १७ गते नै राजीनामा माग गरेको थिएँ,’ प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।
स्थायी कमिटीको बैठकमा विरलै उपस्थित भएका ओली मंगलवारको बैठकमा झण्डै साढे २ घण्टा बसेका थिए । असार १० गते शुरू भएको नेकपा स्थायी कमिटीको चौथो दिनको बैठकमा नेताहरू बोल्नेक्रम जारी छ ।