२९ जेठ २०८३, शुक्रबार

काेराेना संक्रमितकाे उपचारका लागि सरकारले प्रतिदिन १५ हजारसम्म अनुदान दिने

असार १६, २०७७
काेराेना संक्रमितकाे उपचारका लागि सरकारले प्रतिदिन १५ हजारसम्म अनुदान दिने
प्रतिकार्यात्मक तस्वीर।

सरकारले कोभिड–१९ का शङ्कास्पद र सङ्क्रमित व्यक्तिको उपचारका लागि अनुदान उपलब्ध गराउने भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का लक्षण भएका र नभएका सङ्क्रमितको अवस्था हेरी बिरामीलाई वर्गीकरण गरेर अनुदानका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरेको जनाएको छ। मन्त्रालयका नीति तथा योजना प्रमुख डा गुणराज लोहनीले कोभिड–१९ का शङ्कास्पद र सङ्क्रमित व्यक्तिका लागि प्रतिदिन प्रतिव्यक्ति २ सयदेखि १५ हजारसम्म खर्चका लागि अनुदान दिने प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको बताए।

उनका अनुसार होम क्वारेन्टिनमा बसेका व्यक्तिको हेरचाह गर्ने स्वास्थ्यकर्मीलाई प्रतिदिन २ सय, आइसोलेसन सेन्टरमा रहेका साधारण बिरामीको लागि दुई हजार, अस्पतालमा रहेका साधारण बिरामीका लागि  तीन हजार ५ सय, अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा भर्ना हुनुभन्दा अगाडिका बिरामीलाई सात हजार र गम्भीर प्रकृतिका बिरामीलाई १५ हजार दिइने प्रस्ताव गरिएको छ । 

प्रस्तावसँगै अब सङ्क्रमित व्यक्तिको उपचार अन्य अस्पतालमा पनि हुनेछ। यसका लागि सरकारले अस्पताल तोक्ने छ। मन्त्रालयले होम क्वारेन्टिन र आइसोलेसन सेन्टरमा रहेका शङ्कास्पद र सङ्क्रमित व्यक्तिका लागि प्रदेश र स्थानीय तहलाई तथा अस्पतालमा भर्ना भई उपचार भइरहेका बिरामीका लागि  सम्बन्धित अस्पताललाई अनुदान दिइने छ। 

'भारतलगायत अन्य देशमा पनि अनुदान दिएर उपचार गराइरहेका छन्,' उनले भने, 'हामीले पनि अनुदान दिएर उपचार गर्दा लाग्ने खर्च प्रदेश, स्थानीय तह र अस्पतालमा दिन थालेका हौँ ।' उनका अनुसार मन्त्रिपरिषद्बाट प्रस्ताव पारित गर्ने बित्तिकै अनुदानका लागि रकम निकासा हुने छ । कोभिड–१९ को उपचारका लागि अहिलेसम्म  दुई अर्ब ९० करोड निकासा गरिएको छ।  

salt training

कमेन्ट गर्नुहोस्