
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले प्रस्तुत गरेको नागरिकता संशोधन विधेयकका केही व्यवस्था संविधानको मर्मविपरीत रहेको तर्क गर्दै फिर्ता लिन माग गरेको छ ।
मंगलवार अबेर रातिसम्म चलेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सोहीअनुसार संसद्मा प्रस्तुत हुन पार्टीको संघीय संसदीय दललाई निर्देशसमेत गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकले नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले पाउने वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा प्रस्तावित संशोधन नेपालमा नागरिकता सम्बन्धमा संवैधानिक र कानूनी व्यवस्था भएको दिनदेखि कायम रहेको व्यवस्थाविपरीत र राजनीतिक, सामाजिक, सांस्कृतिक मान्यताविपरीत रहेको निष्कर्ष निकालेको छ ।
यस्तो संशोधनका कारण नागरिकता प्राप्तिका विषयमा थप संवैधानिक, सामाजिक एवं पारिवारिक जटिलता समेत सिर्जना हुनसक्ने प्रबल सम्भावना रहने कांग्रेसको तर्क छ । यस सम्बन्धमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा पार्टीको तर्फबाट कांग्रेसका सांसदहरूले फरक मत राखिसकेका छन् ।
बैठकले दाङको शान्तिनगर गाउँपालिका–२ का कांग्रेसका तर्फबाट निर्वाचित अध्यक्ष फर्साराम डाँगीलाई मंगलवार उनकै कार्यकक्षमा हतियारधारी समूह प्रवेश गरी मरणासन्न हुने गरी कुटपिट गरेको घटनाको भत्र्सना गरेको छ । घटनामा संलग्न व्यक्तिहरूको तुरुन्त खोजी गरी हदैसम्मको कानूनी कारवाही गर्न र गम्भीर घाइते भएका डाँगीको उचित उपचारको प्रबन्ध गर्न कांग्रेसले सरकारसँग माग गरेको छ ।
कांग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य, पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सदस्य मीना पाण्डे र संविधान सभाका पूर्व सदस्य ज्ञानकुमारी छन्त्याल गम्भीर अस्वस्थ हुनु भई उपचारार्थ रहेकामा दुवैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
बैठकमा पार्टीको १४ औं महाधिवेशन कार्यतालिका बारेमा छलफल जारी छ । केन्द्रीय कार्यसमितिको बैठक बुधवार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्दैछ ।