
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेको समयमा सहमतिको प्रयास स्वरुप अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग वार्ता गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
मध्यान्ह १२ बजे प्रचण्ड बालुवाटार पुगेका हुन । पार्टी एकता बचाउन निर्णायक वार्ता गर्ने भन्दै स्थायी कमिटीको बैठक शनिवारसम्मको लागि स्थगित भएको छ ।
पार्टीभित्र आएको संकट फूट उन्मुख भएको भन्दै नेकपाका नेताहरू चिन्तित बनेका छन् । अध्यक्षद्वयलाई निरन्तर वार्ता गरेर जारी संकट हल गर्न नेताहरूले निरन्तर खबरदारीसमेत गरिरहेका छन् ।
स्थायी कमिटी बैठक चलिरहेको बेलामा मन्त्रिपरिषद बैठक डाकेर संसद अधिवेशन अन्त्य गराउने प्रधानमन्त्रीको निर्णय थप विवादमा परेपछि नेकपाभित्रको संकट थप गहिरिएको हो ।
समाधानका लागि अध्यक्षद्वयबीच भेटघाट र वार्ताको कुनै विकल्प नरहेको भन्दै दोस्रो तहका नेताहरूले पनि निरन्तर दबाब दिइरहेका छन् ।