
काठमाडौं, १७ वैशाख — विनोद खन्नाले पाकिस्तानस्थित आफ्नो पुर्ख्यौली घर जान चाहेको भएपनि इच्छा पूरा गर्न नपाएको एक पाकिस्तानी सांस्कृतिक अधिकारीले बताएका छन् ।

गत साता मुम्बईमा देहान्त भएका खन्नाले सन् २०१४ मा एक अटोग्राफ लेख्दै पेशावरका जनताप्रति सदिच्छा व्यक्त गरेका र पुर्ख्यौली शहर भ्रमण गर्ने इच्छा व्यक्त गरेको शकील वहीदुल्लाह बताउँछन् । वहीदुल्लाह कल्चरल हेरिटेज काउन्सिल खैबर पख्तुनख्वाका महासचिवका रूपमा सांस्कृतिक टोलीसँग भारत आएका बेलामा खन्नालाई भेटेका थिए ।
‘खन्नाले आफ्ना मातापिता र पुर्खा बसेको पेशावरको इलाका हेर्न चाहेका थिए । उनले पाकिस्तान भ्रमणका लागि अनुरोध गरेका भएपनि सफल हुन सकेनन्,’ वहीदुल्लाहले भने ।
काउन्सिलले विनोद खन्नाको सम्मानमा छिट्टै एउटा कार्यक्रमको आयोजना गर्न लागेको पनि वहीदुल्लाहले बताए ।
खन्नाका बुवा मेहरचन्द पेशावरमा राम्रो जमेर बसेका थिए र भारत पाकिस्तान विभाजन भएपछि परिवारलाई लिएर भारत आएका थिए ।
एजेन्सी