चीनका राष्ट्रपति सी चिनफिङको कठोर तथा सार्वजनिक आलोचना गर्ने प्राध्यापक सु झाङरुनलाई हिरासतमा लिइएको उनका साथीहरूले बताएका छन् ।
नाम नखुलाउने शर्तमा सुका दुई साथीले द गार्डियन पत्रिकालाई बताएअनुसार सुलाई सोमवार बिहान हिरासतमा लिइएको हो । लगभग २० जना प्रहरी अधिकारी १० वटा गाडीमा आएर उनलाई बेइजिङस्थित घरबाट लिएर गएका हुन् ।
सुका एक मित्रले अन्लाइनमा जारी गरेको वक्तव्य अनुसार, अधिकारीहरू उनको घरमा गएर कम्प्युटर तथा अन्य सामग्री बरामद गरे अनि उनलाई पक्राउ गरे ।
चिनियाँ नेतृत्वविरुद्ध वर्षौंसम्म अनेकौं सार्वजनिक आक्रमण गरेपछि सुलाई यसै वर्षको आरम्भमा घरैमा नजरबन्द गरेर राखिएको थियो । उनलाई सामाजिक सञ्जालबाट वञ्चित गरियो अनि उनको इन्टरनेट पनि काटियो ।
सुलाई नजरबन्दबाट शनिवार मात्रै मुक्त गरिएको थियो ।
उनलाई चाङपिङ प्रहरी चौकी लगिएको हुन सक्ने आशंकामा फोन गर्दा एक अधिकारीले फोन उठाए तर अधिकारीले झाङको पक्राउका विषयमा केही पनि थाहा नभएको बताए ।
सु संवैधानिक सिद्धान्त तथा पश्चिमी दर्शनका विज्ञ हुन् र चिङ्गुवा विश्वविद्यालयमा अध्यापन गर्छन् । सीको दमनकारी शासनविरुद्ध उनले विरोधका स्वरहरू उचाल्ने गरेका छन् ।