२५ जेठ २०८३, सोमबार

उपभोक्ता समितिले थाल्यो रातो मच्छिन्द्रनाथको पुनर्निर्माण

उपभोक्ता समितिले थाल्यो रातो मच्छिन्द्रनाथको पुनर्निर्माण

ललितपुरको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण उपभोक्ता समितिमार्फत् सुरु भएको छ।

असार २० गते क्षमा पूजा गरी सोमबारबाट काम सुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष अमीर शाक्यले जानकारी दिए।

शाक्यका अनुसार सोमबार मन्दिर परिसरमा छरिएका निर्माण सामग्री मिलाउने र ढुंगाका खम्बा एकत्रित गर्ने कार्य गरिएको छ। उपभोक्ता समितिले सिकर्मी एवं अन्य निर्माणकर्मीसँग छलफल पनि गरेको छ।

मन्दिर पुनर्निर्माणका लागि असार १५ गते ललितपुर महानगरपालिकाले सिफारिस गरेको शाक्य नेतृत्वको उपभोक्ता समितिसँग पुरातत्व विभागले सम्झौता गरी पेस्की रकम उपलब्ध गराइएको पुरातत्व विभागका सिडिई सम्पत घिमिरेले जानकारी दिए।  

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्वमा पुरातत्व विभागले मन्दिर पुनर्निर्माणको प्राविधिक रेखदेख गर्नेछ।
उपभोक्ता समिति र पुरातत्व विभागबीच भएको सम्झौताअनुसार समितिले एक वर्ष (२०७८ असार १५ गते) भित्र ३ करोड ८ लाख रुपैयाँमा मन्दिरको पुनर्निर्माण गर्नेछ। सम्झौतापछि उपभोक्ता समितिले ४० लाख रुपैयाँ पेस्की लगेको छ।

यसअघि श्रीलंका सरकारको आर्थिक सहयोगमा निर्माण व्यवसायीमार्फत् रातो मच्छिन्द्रनाथको मन्दिर पुनर्निर्माण अघि बढाइएको थियो। पूर्वयोजना अनुसार मन्दिर पुनर्निर्माण अघि नबढेपछि जनप्रतिनिधि एवं स्थानीयको सुझावअनुसार ठेक्का तोडी उपभोक्ता समितिमार्फत् गर्न लागिएको हो।

मन्दिर पुनर्निर्माणको अनुगमनका लागि प्राधिकरणका कार्यकारी समिति सदस्यको नेतृत्वमा ललितपुर महानगरपालिका एवं सम्बन्धित वडाका प्रतिनिधि, पुरातत्व विभागका प्रतिनिधि, बुंगमती क्षेत्र पुनर्निर्माण तथा विकास समितिका प्रतिनिधि, परामर्शदाता र विज्ञ सम्मिलित एउटा समिति पनि गठन गरिएको छ।

पुस १४ गते सिंहदरबारस्थित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यालयमा बसेको जनप्रतिनिधिहरुसहितको बैठकले मन्दिरको बाँकी कामको पुनर्निर्माण उपभोक्ता समितिमार्फत् गराउने निर्णय गरेको थियो ।  

उपभोक्ता समितिमार्फत् सम्पदा पुनर्निर्माण गर्दा सकरात्मक परिणाम आएका छन्। रानीपोखरीको पिंध र पानी रहने वरिपरिको पर्खालको पुनर्निर्माण सकेर त्यहाँको उपभोक्ता समितिले गत साता प्राधिकरणलाई हस्तान्तरण गरेको थियो।

salt training

कमेन्ट गर्नुहोस्