१२ असार २०८३, शुक्रबार

साउन महिनामा सुनसान पशुपतिनाथ क्षेत्र

असार २४, २०७७
साउन महिनामा सुनसान पशुपतिनाथ क्षेत्र

चान्द्रमासअनुसार असार २२ गते सोमवारदेखि श्रावण कृष्णपक्ष शुरू भएको छ । प्रत्येक वर्ष साउन महिनामा पशुपति क्षेत्रमा लाखौं भक्तजनको भीड लाग्ने गर्छ ।

यस वर्ष चान्द्रमासअनुसार साउन महिनाको तेस्रो दिन बित्दासमेत पशुपति क्षेत्र सुनसान छ । पशुपति क्षेत्रमा शिवका भजन, आराधनाका स्तोत्र घन्किएका छैनन् ।

कोरोना भाइरसको संक्रमणका कारण चैत ११ गतेदेखि जारी गरिएको बन्दाबन्दीले पशुपति मूल मन्दिरभित्र भक्तजनलाई प्रवेश निषेध गरिएको छ । असार १ गतेदेखि बन्दाबन्दीलाई खुकुलो बनाइए पनि देशभरका प्रमुख मठमन्दिर, शैक्षिक संस्था र सार्वजनिक यातायात अझै बन्द छन् ।

अहिलेकै स्वरूपको बन्दाबन्दी पनि सरकारले साउन ७ गतेसम्म जारी रहने घोषणा गरेको छ । अन्य सबै क्षेत्रमा बन्दाबन्दी खुल्नेबित्तिकै पनि पशुपतिमा भक्तजनलाई स्वास्थ्य सुरक्षाका कारण प्रवेश गराउन नसकिने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा बताउँछन् ।

‘असार १ गतेदेखि पशुपतिको मूल मन्दिरभित्र दर्शनार्थीलाई प्रवेश गर्न नदिइए पनि मुख्य मन्दिर बाहिरका भुवनेश्वरी, आर्यघाट, आर्यघाटपारिको क्षेत्रलगायत स्थानमा भक्तजन आउन दिइएको छ, भक्तजनले बाहिरबाटै दर्शन गर्न सक्छन्, अन्य क्षेत्र खुलेको ४–५ दिनपछि कम्तीमा २ मिटरको दूरी कायम गरेर मूल मन्दिरभित्र भक्तजनलाई प्रवेश गराउने गरी कार्यविधि बनाएका छौं,’ उनले भने ।

मठमन्दिर, चैत्य, गुम्बा, बिहार, मस्जिद, चर्चजस्ता धार्मिकस्थलमा हुने भीडभाडबाट छिटो रोगको संक्रमण फैलने भएकाले सचेतता अपनाइएको कोषले जनाएको छ । मन्दिर खुलिहाले पनि विशेष पूजा भने गराइने छैन । 

साउन भगवान् शिवकै महिना भएकाले पशुपतिनाथ मन्दिरमा विशेष पूजा गराउने भक्तजनको भीड लाग्ने गरेको छ । साउनमा विशेष पूजाबाट कोषलाई करोडौं आम्दानी हुने गरेको छ । – पूर्णप्रसाद मिश्र/रासस 

salt training

कमेन्ट गर्नुहोस्